Breaking

गठबन्धन बोकेको कुकुर हो, शिकार गर्दैन–एमाले, व्यवस्था नै खानेसँग चुनाव लड्नु दुःखद्– ओन्सरी


काठमाडौँ — मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सरगर्मी देशभर बढेको छ । दलीय र स्वतन्त्र उम्मेदवारहरु पार्टी बैठक र मतदातालाई आकर्षित गर्न प्रचारप्रसारमा लागिसकेका छन् । निर्वाचन आयोगले पनि कार्यतालिकाअनुसार नै काम गरिरहेको छ । देशको राजधानी भएकोले पनि काठमाडौँको हरेक निर्वाचन क्षेत्रमा देशैभरका नागरिकको चासो छ । काठमाडौँ निर्वाचन क्षेत्र नं. २ ले पनि आम मानिसको ध्यान आफुतिर तानिरहेको छ ।

हालका राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जस्ता शीर्ष नेताहरु जन्माईसकेको यो क्षेत्रले अब कुन नेतालाई संसद्को भवन पर्याउला भन्ने चासो सबैमा छ । पाँच दलीय गठबन्धनको नेतृत्व गरेर नेकपा माओवादी केन्द्रकी ओन्सरी घर्ती मगरले यस क्षेत्रमा आफ्नो दावेदारी पेश गरेकी छन् । सभामुखसम्म भइसकेको घर्तीलाई जिताउन कांग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै लागिपरेका छन् ।

शीर्ष नेतृत्वहरु ओन्सरीलाई जिताउन कार्यक्रम मात्रै होइन कि जिताएर पठाए मन्त्री बनाउने घोषणा नै गरिरहेका छन् । कुनै बेला एमाले अध्यक्ष केपी ओलीले योगेश भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउँछु भने जस्तै गरी यतिबेला ओन्सरीलाई मन्त्रालय नै तोक्नेसम्मका काम भएका छन् ।

२०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित उनी ०७४ को चुनावमा भने समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । खेलकुदमन्त्री समेत भइसकेकी उनी अहिले मतदाता रिझाउन घरघरमा पुगिरहेकी छन् । ७० को उप निर्वाचनमा आफुले चुनाव जिते जोरपाटी–साँखु सडक खण्ड २ वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्ने नभए राजीनामा दिने घोषणा गरेकी उनी व्यवस्था नै खानेसँग चुनाव लड्नु दुःखद् रहेकी बताउँछन् ।

सांगठनिक रुपमा बलियो एमालेका तर्फबाट मणिराम फुयाँल पहिलो पटक संसद् प्रवेश गर्ने होडमा छन् । शैक्षिक पृष्ठभूमिका फुयाँल ०७४ को चुनावमा प्रदेश सभामा निर्वाचित भएका थिए । पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्न लागेका फुयाँल सोही क्षेत्रका बासिन्दासमेत हुन् । गठबन्धनले आफ्नो उम्मेदवारलाई जिताउन लविङ गरिरहँदा उनी भने टेको लगाइदेर चुनाव नलड्ने बताउँछन् ।

यी दुई बाहेक पनि यसै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल, विवेकशील साझा पार्टीबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै स्वतन्त्रबाट पनि अधिवक्ता समेत रहेका प्रकाश अधिकारी, कोषराज सुवेदी, रोहन कार्कीलगायत चुनावी मैदानमा छन्।

यस क्षेत्रमा पहिलो ३१ जनाले उम्मेदवारी दर्ता गराए पनि एक जनाले फिर्ता लिँदा अहिले ३० जना चुनावी मैदानमा छन् । शंखरापुर नगरपालिकाको १ देखि ९ सम्मका सबै वडा, कागेश्वरीको ४ देखि ९ वडा र काठमाडौँ महानगरपालिकाको ९ र ३२ वडा यस निर्वाचन क्षेत्रभित्र पर्छन् । मुख्य दुई प्रतिष्पर्धी नै कम्युनिष्टका हुँदा लगभग ८३ हजार मतदाता रहेको यहाँबाट विगतमा झै यस पटक पनि कम्युनिष्टले नै संसद्को ढोका खोल्ने सम्भावना देखिन्छ ।