Breaking

यस्ता छन् यसपालीका महाभिडन्त,ओली–देउवा ढुक्क,रवीदेखि प्रचण्ड जित्नैपर्ने दबाबमा


काठमाडौँ — चुनाव हारजितको खेलमात्रै होइन,प्रतिष्ठाको विषय पनि हो ।अहिले धेरै नेताहरु चुनावमात्रै होइन कि प्रतिष्ठाको लडाइँसमेत लडिरहेका छन् । त्यसो भए, प्रतिष्ठाकै लागि चुनाव जित्नुपर्ने बाध्यतामा को–को छन् ? यसपटकको निर्वाचनमा काठमाडौंबाटै प्रतिष्ठाको लडाइँ सुरु हुन्छ । काठमाडौंको पनि क्षेत्र नम्बर एकमानेपाली काँग्रेसका प्रकाशमान सिंहलाई प्रतिष्ठा जोगाउनै हम्मेहम्मे परेको छ ।

३२ जना उम्मेदवार मध्येका एक प्रकाशमान सिंह यसअघिका तीन निर्वाचन जितेर ह्याट्रिक गरेका नेता हुन् । चौथोपटक पनि जित्ने तयारीमा रहेका सिंहलाई गत निर्वाचनमा झण्डै हराएका रवीन्द्र मिश्रलेसत्तो लिइरहेका छन् । तर मिश्रलाई पनि विगतमा ल्याएको मतभार बचाएर राप्रपा प्रवेशको औचित्य पुष्टि गर्नुपर्ने चुनौती छ । नत्र कुनै बेला विवेकशील साझामातराजु बोकेर न्याय गर्न हिडेका रवीन्द्र हलोमा अड्किएर लड्ने खतरा छ ।

यहाँ पुकार बम र रमेश खरेल जस्ता उम्मेदवारहरुले उनीहरुलाई झनै खतराको घण्टी बजाइरहेका छन् । तैपनि सिंह आफ्नै जितको हिसावकिताव गरिरहेका छन् । काठमाडौं १ पछि दुईको अवस्था पनि कम्ता भयानक छैन । व्यवस्थापिका संसदको प्रमुख भएर राजकाज चलाएकी पूर्वसभामुख ओनसरी घर्तीको उम्मेदवारीले यो क्षेत्रलाई झनै हेभि बनाएको छ ।तर एमालेका मणिराम फुयालसँग पराजित भए पूर्वसभामुखलाई निकै ठूलो धक्का लाग्नेछ ।

काठमाडौंको क्षेत्र नम्बर ४ बाट काँग्रेसका गगन थापा र एमालेका राजन भट्टराई दोस्रोपटक भिड्दैछन् । काठमाडौंमा सबैभन्दा बलिया मानिएका थापालाई चुनाव जित्ने पर्ने दबाबले थेकिनसक्नुको चुनौती दिइरहेको छ । उता यही निर्वाचनलाई अन्तिम अवसरका रुपमा प्रयोग गर्न खोजिरहेका राजन भट्टराईलाई समेत कम्ता सकस छैन । प्रधानमन्त्रीकै एजेन्डा लिएर चुनावमा होमिएका थापालाई भने प्रतिष्ठाकै लागि भएपनि जित्नुपर्ने दबाब छ ।

काठमाडौं पाँचमा भने गत निर्वाचनमा सहज जित हात परेका एमालेका ईश्वर पोखरेललाई विगतकै विरासत बचाइराख्न निकै चुनौति थपिएको छ । किनकि गठबन्धनले काँग्रेसका युवा नेता प्रदीप पौडेललाई यहाँ बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।आफुभन्दा निकै जुनियर राजनीतिज्ञलाई पराजित गर्न नसके आफ्नै प्रतिष्ठामाथि आँच आउने ईश्वरको बुझाइ छ । यता यसपटक पनि हारे हरुवाको ट्याग लागिराख्ने भयबाट त्रसित पौडेललाई पनि नजिति सुखै छैन ।

सबैभन्दा रोचक भिडन्त त झापामा छ । देशकै सबैभन्दा हेभिवेट नेताहरुको हेभि भिडन्त हुने निर्वाचन क्षेत्रहरुमध्ये झापा प्रमुख हो ।पूर्वप्रधानमन्त्रीसमेत रहेकाएमाले अध्यक्ष केपी शर्मा ओली ४८ सालदेखि निरन्तर यही क्षेत्रबाट चुनाव लडिरहेका छन् ।तर गठबन्धनले यसपटक पनि ओलीविरुद्ध विगतमै पराजित भएका खगेन्द्र अधिकारीलाई भिडाएको छ । बलियो प्रतिस्पर्धी नभएपनि ओलीले कदमकदाचित चुनाव हारे, राजनीतिक जीवनको अन्तिम लडाइँ हार्नेछन् ।

प्रतिष्ठाकै लागि भएपनि जित्नेपर्ने दबाबमा रहेका ओलीविरुद्ध यहाँ २५ जना मैदान छिरेका छन् । झापामै उग्र गणतन्त्रवादी र उग्रराजतन्त्रवादीको रि–ब्याटल हुँदैछ । काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनफेरि पनि झापा ३ बाट भिड्दैछन् । झापा १ मा पार्टीमा सफलता हासिल गरेका काँग्रेस महामन्त्री शर्माको सदन छिर्ने सपना तेस्रोपटकका लागि अवसर बनेर आएको छ ।

तर उनको सपना तुहाउनका लागि पूर्वकानुनमन्त्री समेत रहेका एमाले नेता अग्नि खरेल मैदान छिरेका छन् । मोरङमा काँग्रेस इतरसमूहका नेता शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिष्ठाको लडाइँमा छन् । राप्रपा नेतृ रेखा थापा र मेडिकल माफियाको परिचय बनाएका काँग्रेसका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल भिड्दैछन् । सुनसरीमा विजयकुमार गच्छेदार र भगवती चौधरी तेस्रोपटक आमने सामने हुँदैछन् ।

सप्तरी २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चुनावमात्रै होइन, प्रतिष्ठाकै लडाइँमा छन् ।सर्लाही २ मा लोसपाका राजेन्द्र महतो र नेसपाका महिन्द्रराय यादव भिड्दैछन् । महन्थ ठाकुर, चित्रलेखा यादवदेखि बागी उम्मेदवारी हालेका डा. अमरेश सिंहसम्मलाई चुनाव प्रतिष्ठाकै विषय बनेको छ ।

चितवन पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण चर्चामा थियो । अहिले उनी गोरखा पुगेपछि स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने पत्रकारिता छोडी दल बनाउनुको औचित्य पुष्टि गर्न जित्नै पर्ने दबाबमा छन् ।

चितवन दुईमा रवी लामिछाने, नेपाली काँग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग भिड्दैछन् ।तर चितवन ३ बाट गोरखा गएका ६६ वर्षीय प्रचण्डलाई एमालेका २९ वर्षीय अब्दुश मियाँ कांग्रेस बिपीका ९९ वर्षीय टिकादत्त पोखरेललेचुनौती दिइरहेका छन् ।

करोडौंको गाडीमा सवारी हुने अर्बपति बिनोद चौधरी सानो लिखलिखे बाइक चढेर हिडिरहेका छन् । किसानका खेत र गोठमा चौधरीको उपस्थिति छ । ओहो, चौधरीलाई नपुग्दो के थियो, सबथोक हुँदाहुँदै पनि अन्तिममा राज्यसत्तामा पुग्नै पर्ने लोभका कारण चौधरीलाई नवलपरासी १ मा प्रतिष्ठाको लडाइँ भिड्नुपरेको छ । नवलपरासी २ मा काँग्रेसकै शशांक कोइराला विरासत थाम्ने चुनौतीमा छन् । तर काँग्रेस सभापतिसमेत रहेका देउवा ढुक्क छन् । किनकि देउवाको निर्वाचन क्षेत्रमा खासै ठूलो भिडन्त छैन ।

यसपटकको निर्वाचनलाई प्रतिष्ठाकै रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि लिएका छन् ।गत निर्वाचन काठमाडौं २ बाट जितेका नेपाल यसपटक रौतहट १ बाट उम्मेदवारी दिएका छन् । समाजवादीकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो पुरानै निर्वाचन क्षेत्र इलाम १ बाट उम्मेदवार बनेका छन् । उनीहरु दुबैजना नगरपालिकाका पूर्व मेयरसँग चुनाव भिड्दै गरेका कारण प्रतिष्ठाको ठूलो लडाइँमा छन् ।