Breaking

एमालेसँगको सहकार्य भएपछि अब राप्रपा राष्ट्रिय पार्टी हुन्छ: एमाले अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन् । झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए ।

ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन । अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ । त्यसैले राप्रपालाई सहयोग गरेका हौँ । एमालेसँगको सहकार्य भएपछि अब राप्रपा राष्ट्रिय पार्टी हुन्छ ।’एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि(भिसा र फ्रि(टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए।

उनले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए । बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे ।

निर्वाचनलाई केन्द्रमा राखेर एमालेले राप्रपासँग गरेको तालमेलपछि पहिलो पटक एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै मञ्चबाट झापाका मतदातालाई रिझाउने प्रयास गरे ।

तालमेलका बारेमा बुझाउन भन्दै आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा ओलीले सत्ता गठबन्धनका दलसँग निकै आक्रोस पोखे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ। अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने ।

२०७४ सालको निर्वाचनमा जस्तै यसपटक पनि एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन एक आपसका परिपुरक बनेका छन् । कांग्रेसको महाधिवेशनका बखत ‘हिँड्न नजान्ने गाईको बाछो’को उपनाम पाएका राजेन्द्र लिङ्देन अहिले ओलीका लागि भरोसा बनेका छन् । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाविरुद्ध लिङ्देनलाई ओलीले साथ दिएका छन् ।