काठमाडौँ— सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कातिर्क २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ ।
आज खान छुटेकाहरुलाई भोलि ३ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए ।
प्रतिक्रिया