Breaking

ललितपुरमा गठबन्धनका उम्मेद्वारले दिए यस्तो अश्वासन, सांस्कृतिक सम्पदा बचाउने पम्फाको योजना


काठमाडौँ — सत्ता गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभा उम्मेदवार बनेकी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छिन् । प्रदेशसभामा उठेका कांग्रेस र एकीकृत समाजवादीका नेताहरुले पनि मतदाताको शीर झुक्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् ।

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताइन् । उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताइन् । मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताइन् । उनले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्न जोड दिने उल्लेख गरिन् ।

त्यस्तै गरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता उदय समशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताए । उनले मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य रहेको बताए ।

उनले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताए । त्यसैगरी ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले आफू विगतमा सांसद हुँदा मतदातारुले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिवद्धता व्यक्त गरे । उहाँले विगतमा आफ्नै नेतृत्वको गलत कामको बिरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब कामको बिरुद्धमा सधैँभरी लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।