Breaking

सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौँ — प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो ।

मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उहाँको भनाई थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अव हसिँया हतौडा, को रुख भन्ने नै छैन अव । कसलाई भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने । रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि ।

किन चाहियो अरु कुरा ? सबै दाजुभाई दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर यो देशलाई अझ स्थायी रुपमा अगाडि बढाउनका लागि स्थायी शान्ति, स्थायी प्रजातन्त्र, स्थायी गणतन्त्रलाई अगाडि बढाउनका सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिनु भयो । उहाँले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झांैता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले नेपाल अत्यन्तै महत्वपूर्णं दिशामा छ । महत्वपूर्ण मोडमा छ । तपाईँहरुलाई थाहा छ–कत्रो कोभिडको अवस्था थियो नेपालमा । कोभिडले गर्दाखेरी धेरै मानिसहरुको मृत्यु भएको छ । अझै पनि अरुअरु भेरियन्ट आएर समस्या पारिरहेको छ । यहीँबीचका डेंगी भएर फेरी नेपालीहरुको मृत्यु समेत भईसकेको छ । एकातिर यस्तो छ यो देशमा ।

अर्कोतिर श्रीलंकाको हालतमा नेपाल हुन्छ भन्नेहरु थिए । श्रीलंकाको हालत होस् भन्ने चाहनेहरु पनि थिए । तर सबको सहयोगले सबैले राम्रो काम गर्नु भयो । त्यसले गर्दाखेरी आज श्रीलंका हुनबाट नेपाल बाँचेको छ । नेपाल असफल राष्ट्र हुनबाट बचेको छ । यस मानेमा नेपाल अझ धेरै अगाडि बढनेछ ।

त्यतिमात्रै होइन् नेपाल छिट्टै सम्पन्न देश बन्न सक्ने सम्भावना छ । हामीले हाम्रो देशको पानी, हामीले हिमालबाट बग्ने ठूल्ठूला नदीहरु दक्षिणतिर बग्छन । त्यसकारण भारतले किनेन भने हाम्रो विजुली बिक्दैन । चीनमा हामी विजुली बच्न सक्दैनौं । किन्ने देश भारत नै हो । त्यसकारण भारतले विजुली किन्ने सहमती गरेको छ ।

धेरै ठाउँमा विद्युत किन्ने भारतले जो सहमती गरेको छ । त्यसले नेपाल छिट्टै नै एउटा सम्पन्न राष्ट्रको दाँजोमा आउन सक्ने सम्भावना धेरै मात्रामा बढेको छ । यस मानेमा पनि नेपाल धेरै हिसावले अगाडि बढेको छ । अरु कुराहरु धेरै छैन । अहिले चुनावको समय भएकाले मैले चुनावको बारेमा केही बोल्नुपर्ने आवश्यक्ता छ ।

अहिले नेपाल राष्ट्र एउटा चाँही ट्रान्जिक्सनमा छ भन्दा पनि हुन्छ । लोकतन्त्रलाई स्थायी राख्नुछ । ओलीजीले २ पटक भंग गरिदिनु भयो पार्लियामेन्ट । जनताले चुनेको संसद मनपरी ढंगले भंग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भंग गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौं ।

त्यसकारण यो यो अवस्थामा बाहेक संविधान भंग गर्न नै नपाईने व्यवस्था थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए हेर्नुस्न संसद । बिहानै गरे हुन्थ्यो । बिहान ६÷७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भंग गर्न थालेपछि त हामीले यो संसद बचाउन आवश्यक थियो ।

अहिले ठिक टाईममा चुनाव हुँदैछ अव । चुनाव हुने मिति भर्खर हुँदैछ, उहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनु भयो । प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोही अनुसार अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।