Breaking

ओलीको संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठबन्धन भएको हो: माधवकुमार नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको दाबी गर्नुभएको छ । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको जिकिर गर्नुभयो । सत्तारूढ गठबन्धनले आज मङ्गलवार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएको सत्तारूढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो । उहाँले भन्नुभयो, ‘गठबन्धनबारे प्रश्न उठेको छ । विपक्ष एमालेले बनाएको गठबन्धन अपवित्र हो । हाम्रो सत्तारूढ गठबन्धन चाहिँ पवित्र हो । हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो ।

दुई–दुई पटक संविधान कुल्चने काम भएको थियो, देशलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ, देशको संविधान जोगायौँ, लोकतन्त्र पनि जोगायौँ । यसरी पवित्र उद्देश्यका साथ हामीले गठबन्धन गर्‍यौँ ।’ अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।