विदेश

बङ्गलादेशले रोक्यो नोरा फतेहीको ‘डान्स सो’


काठमाडौँ — बङ्गलादेशको सरकारले राजधानी ढाकामा हुने भनिएको बलिउड अभिनेत्री नोरा फतेहीको ‘डान्स सो’ मा रोक लगाएको छ । डलर बचाउनका लागि उनको डान्स सो रद्ध गरिएको बांग्लादेशले जनाएको छ । बङ्गलादेशको सांस्कृतिक ममिला मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै फतेहीको डान्स सो रद्ध गरिएको उल्लेख गरेको हो ।

उक्त सूचनाअनुसार वैश्विक स्थिति र वैदेशिक मुद्रा भण्डारलाई मध्यनजर गर्दै डलर बचाउनका लागि नोरा फतेहीको सो रद्ध गरिएको हो । फतेहीलाई ढाकास्थित ‘वुमेन लिडरसिप कोअपरेसन’ नामक एक कार्यक्रममा डान्स गर्न बोलाइएको थियो ।

विश्वका केही देशहरू झैं बांग्लादेशको अर्थव्यवस्था पनि कमजोर स्थितिबाट गुज्रिरहेको र अहिले वैदेशिक मुद्रा भण्डार खस्किएर ३६.३३ अर्बमा पुगेको बीबीसी हिन्दीले जनाएको छ । फतेही बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री हुन् ।