काठमाडौँ— स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता कहाँ थन्किएको छ भन्ने कसैले पत्तो पाउन सकेका छैनन् । मुलुक यतिबेला डेंगु संक्रमणको चपेटामा छ । देशभर ४० हजारभन्दा बढी नागरिक डेंगुबाटु संक्रमित छन् । डेंगु संक्रमणकै कारण ४८ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिबद्धता जनाएका मन्त्री खापुङ डेंगु नियन्त्रणका सन्दर्भमा उदासिनमात्र होइन, मुकदर्शकको भूमिकामा देखिन्छन् ।जनस्वास्थ्यविद्हरु सरकारको बेवास्ताकै कारण डेंगु संक्रमण डरलाग्दो गरी फैलिएको बताउँछन् । डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चल्न नसकेको भन्दै मन्त्री खापुङको चौतर्फी आलोचना भइरहेको छ । जाडो सुुरु भएपछि डेंगु विस्तारै हराउँदै जान्छ भनेर सरकारले यसको प्रकोपलाई पूर्णतया बेवास्ता गरेर बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीको आरोप छ । स्वास्थ्य मन्त्रालयले नै डेंगु संक्रमण, जोखिमलाई नबुझ्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।
अपरिपक्व अभिभावक भए पनि महाशाखा र स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञले डेंगुको जोखिम, वर्तमान अवस्था, नियन्त्रणको प्रयास नगरे कस्तो क्षति हुन्छ भनेर प्रक्षेपण गरी विषयको गम्भीरतालाई बुझाउने भूमिका निर्वाह गर्नुपर्नेमा त्यो पनि नभएको उनले बताए । असोजको पहिलो साता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रण बाहिर गइसकेको भनेर मन्त्रालयलाई जानकारी गराएको थियो । २०७६ सालमा डेंगुले प्रकोपको रुप लिँदा १७ हजार ९९२ जना संक्रमित भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।
हाल सरकारले ‘खोज र नष्ट गर’ अभियानलाई नारामा सीमित राखेकाले संक्रमित र मृत्यु दर बढेको डा मरासिनी सुनाउँछन् । जनस्वास्थ्यविद् डा शरद वन्तका अनुसार कोरोना महामारीको सुरुवाती समयमा संक्रमण हुनबाट कसरी जोगिने भन्नेबारे अस्पष्टता थियो । तर, डेंगु संक्रमण र जोखिमबारे पूर्ण जानकारी भए पनि राज्यले सोहीअनुसार प्रभावकारी रुपमा नियन्त्रणतर्फ अगाडि बढ्न सकेको छैन । सरकारी तहबाट राज्यले नागरिकलाई डेंगुबारे सचेत गराउने र स्वास्थ्य सेवा दिने सवालमा पहल नगरेको उनले बताए ।नेपालमा २०६१ सालदेखि डेंगु संक्रमण देखिएको हो । दीर्घकालीन नीति, सोच र तत्परता कम भएकाले यो प्रकोपकै रुपमा फैलिएको डा मरासिनी सुनाउँछन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले किट्जन्य रोग नियन्त्रणसम्बन्धी काम गर्ने ७० जना कर्मचारीलाई हेल्थअसिस्टेन्ट बनाएर बाहिरी जिल्लामा खटाउँदा यस्तो समस्याका बाबजुद मन्त्रालय निरीह बन्नुपरेको उनको भनाइ छ ।डा मरासिनीले नेपाल संक्रामक रोगको खानी बन्न सक्ने चेतावनीसमेत दिए । कोलम्बियाको उदाहरण दिँदै उनले त्यहाँ हरेक वर्ष संक्रामक रोगले आक्रान्त बनाएजस्तै कुनै दिन नेपाल पनि सोही अवस्थामा पुग्नेतर्फ सचेत तुल्याए । विश्व स्वास्थ्य संगठनका अनुसार १५ डिग्री तापक्रम नपुगेसम्म डेंगु संक्रमणको जोखिम कायम रहन्छ ।
यद्यपि नेपालको सन्दर्भमा वर्षभरि लगातार डेंगुका रोगी देखिने डा। मरासिनी बताउँछन् । राज्यको रेकर्डमा ४० हजार बढी संक्रमित र ४८ जनाको मृत्यु भनिए पनि लाखौं संक्रमित भएको उनी बताउँछन् । जाडो महिना लागेपछि डेंगु संक्रमण हराउँछ भनेर ढुक्क भएर बस्दा घरघरमा डेंगुका बिरामी देखिएको उनको भनाइ छ ।१५ डिग्री भन्दा तल कुनै ठाउँमा तापक्रम नपुग्न सक्ने र त्यस्ता क्षेत्रमा डेंगु संक्रमण सदा देखिन सक्ने उनले प्रस्ट पारे ।
प्रतिक्रिया