Breaking

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षीको लर्को, गगनदेखि प्रकाशमानसम्म मतदातालाई अश्वासन दिँदै


काठामाडौँ — आम निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाता केन्द्रित बनेका छन् । मतदातालाई प्रभावित गर्न उम्मेद्वारहरुले हरसम्भव प्रयास गरिनै रहेका छन् । यसै मेसोमा नेपाली कांग्रेसका कतिपय हेवी वेट उम्मेद्वारहरुले भने आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने गरेका छन् । आम निर्वाचन आउन अव केवल ३४ दिन मात्र बाँकी छ । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाता केन्द्रित भएका छन् ।

केही हेवी वेट नेताहरुले भने आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएर मतदातालाई प्रभावित पर्ने प्रयास गरिरहेका छन् । यो मामलामा नेपाली काँग्रेसका उम्मेद्वार धेरै छन् । महामन्त्री गगन थापा, वरिष्ट नेता रामचन्द्र पौडेल, नेता शेखर कोइरालादेखि प्रकाशमान सिंहले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरे । काठमाडौं क्षेत्र नम्बर १ मा लगातार चौथो पटक निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी मैदानमा रहेका उनले क्राइटेरियाले हेर्दा कांग्रेसबाट प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको दाबी गर्न भ्याए ।

महामन्त्री गगन थापाले पनि पटक पटकअब सरकारको नेतृत्व आफूले गर्ने दाबी गर्दै आएका छन् । काठमाडौं ४ बाट ह्याड्रिक गर्ने तरखरमा रहेका थापालेउम्मेद्वारी दर्ताकै दिन सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने दाबी गर्न भ्याएका थिए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा आफ्नो दाबी रहेको उनको भनाइ थियो ।

सिंह र थापा मात्र होइन, कांग्रेसका वरिष्ठ नेता, रामचन्द्र पौडेल, नेता शेखर कोइराला, पूर्व महामन्त्री शशांक कोइरालासम्मले बेला मौकामा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने गरेका छन् । भावी प्रधानमन्त्रीकै रुपमा उभ्याउँदै आएकी सुजता कोइराला भने समानुपातिकमार्फत सांसद् बन्ने बाटो सुरक्षित गर्न बाध्य भएसँगै यो रेशमा उभ्याउने उनको बाटो बन्द भएको छ ।

यता कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने यो प्रधानमन्त्रीमा दाबी गर्ने समय नभएको भन्दै नेताहरुको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । पहिला निर्वाचन जित्न र पार्टीलाई जिताउन केन्द्रित हुन उनले नेताहरुलाई आग्रह गरे । त्यसो त राजनीतिक शक्ति सन्तुलनलाई हेर्दा कांग्रेसमा सभापति देउवालाई पाखा लगाएर प्रधानन्त्री बन्न अन्य नेताहरुलाई सहज भने देखिँदैन ।

टिकट वितरणमै हाली मुहाली गरेका देउवाले अन्य नेतालाई संसदीय दलको नेता बन्ने सम्भावनालाई टारेका छन् । निर्वाचन पछि छैटौं पटक प्रधानमन्त्री बन्ने तरखरमा रहेका उनले ज्योतिषले नै आफूलाई सात पटकसम्म प्रधानमन्त्री बन्छस् भनेर भविष्यवाणी गरेको भन्दै तत्काल पार्टीबाट अन्य नेता प्रधानमन्त्री बन्ने सम्भावना नरहेको संकेत दिइसकेका छन् । विभिन्न नेताहरुले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने गरे पनि पार्टीको ेआन्तरिक शक्ति सन्तुलनलाई हेर्दा कांग्रेसभित्रबाट देउवाले नचाहेसम्म दोस्रो व्याक्ति प्रधानमन्त्री हुने सम्भावना देखिँदैन ।