Breaking

काठमाडौं १ मा चुनावी भिडन्त, कस्को पल्ला भारी रु कस्को अवस्था कस्तो ?


काठमाडौँ — काठमाडौँ क्षेत्र नं. १ का चुनावी भिडन्त रोचक बन्दै गएको छ । बहुचर्चित अनुहारसँगै राजनीतिक दल र स्वतन्त्रको पनि उल्लेख्य उम्मेदवारी परेसँगै यो क्षेत्रको चासो सर्वत्र चुलिएको छ । यतिबेला देशैभर चुनावी माहोल गर्मराएको छ । चुनावी मैदानमा देशैभरी विभिन्न खालको चुनावी गतिविधि भइरहेको छ । त्यसमध्ये पनि देशैको राजधानी काठमाडौँ र काठमाडौँको पनि मुटु मानिएको काठमाडौँ क्षेत्र नं. १ मा रोचक भिडन्त हुँदै छ ।

राजनीतिक दल तथा स्वतन्त्रबाट नाम चलेका उम्मेदवाहरुको जमघटका कारण पनि यो निर्वाचन क्षेत्र सर्वाधिक चासोको क्षेत्र बनेको छ ।तत्कालिन कम्युनिष्टका प्रखर व्यक्तित्व मानिने प्रदीप नेपाललाई यही क्षेत्रबाट पराजित गरेर नेपाली राजनीतिमा उदाएका प्रकाशमान सिंहचौथो पटकका लागि मैदानमा होमिएका छन् । २०६४ बाट ०७४ को चुनावसम्म आईपुग्दा ह्याट्रिक गरेका सिंह आफ्नो विरासत बचाइराख्न उनी अहिले मतदाता रिझाउन लागि परिरहेका छन् । हुन त उनी टिकट निश्चित हुनुभन्दा अघि देखि नै चुनावी प्रचार जुटेका थिए् ।

गत निर्वाचनमा राम्रो जनमत प्राप्त गर्न सफल राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले यसपटक पनि क्षेत्र नं. १ लाई नै रोजेका छन् । अघिल्लो चुनावमा निकटम प्रतिस्पर्धी रहेका प्रकाशमान सिंहसँग ८ सय मतान्तरले पराजित मिश्र विवेकशील साझा त्यागेर राप्रपाबाट उम्मेदवार बनेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए ।

यसपटक पनि सुरुमा एमालेबाट सहयोग मिल्ने आश गरे पनि एमालेले किरण पौडेललाई उम्मेदवार उठाउँदा उनलाई धक्का लागेको छ । यद्यपि उनी पनि मतदाता रिझाउन भरपूर प्रयास गरिरहेका छन् । विचारभन्दा देश ठूलो भन्ने पुस्तक वितरण र विभिन्न क्लबदेखि लिएर युवा जमात रहेको ठाउँमालाई लक्षित गरेर मिश्रले आफ्नो सक्रियता बढाएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी डीआईजी रमेश खरेल पनि आफ्नै पार्टीको नेतृत्वबाट मात्रै देशमा सुशासन कायम गर्न सकिने भन्दै चुनावी प्रचार प्रसारमा लागेका छन् । क्षेत्र नं. १ कै बासिन्दा उनी प्रहरी संगठनमा रहँदा हासिल गरेको लोकप्रियतालाई यो चुनावमा परीक्षण गर्दैछन् ।

प्रतिनिधिसभा चुनावको मिति तय हुनु अघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिदैँछन् । कैलालीका स्थायी बासिन्दा उनी कोरोना समयको ‘इनफ इज इनफ’ अभियानमर्फत चर्चामा आएका थिए । सामाजिक अभियन्ताको छवी बनाएका उनी सडकबाट नागरिकका निम्ति सकेको काम गरेको र अब संसद् पुगेर नागरिकको आवाजको प्रतिनिधित्व गर्ने बताउँदै आएका छन् ।

इता नेकपा एमालेले भने आफ्नो भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष किरण पौडेललाई यो क्षेत्रको उम्मेदवार बनाएको छ । २०७८ जेठदेखि केही समय युवा संघ नेपालको नेतृत्व सम्हालेका पौडेल पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको क्षेत्रमा काठमाडौँ महानगरपालिकाभित्रका ४ वटा वडा पर्छ । १०, ११, २९ र ३१ वडामा गरेर करिब ४८ हजार हाराहारीमा मतदाता रहेका छन् ।

यो क्षेत्रमा पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाल लगायतका क्षेत्र पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको तुलानामा यहाँ २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।