काठमाडौँ— नेपालले एक जिवीत इतिहास वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई गुमाएको छ । १०३ वर्षीय शताब्दी पुरुषको निधनले नेपाली भाषा, कला साहित्यमाथि अपुरणीय क्षतीसँगै एक अभिभावकको अभाव बेहाुर्ने परेको हो । संस्कृतिविद् शताब्दी पुरूष डा.सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आईतबार आफ्नो देह त्याग गरेका छन् । आज बिहान ७ बजेर ९ मिनेटमा उनले उपचारकै क्रममा किष्ट अस्पताल ललितपुरमा देह त्याग गरे ।
जोशीको प्राण सदाका लागि रोकिएपछि उनको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका कार्यालयको उद्यानमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । आम सर्वसाधारणदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसमेत सामेल भएका श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओडाएर उहाँलाई श्रद्धाञ्जली अर्पण गरे । बहुदलीय शासन व्यवस्थामा पनि निस्कलंक र साझा जीवन व्यतीत गरेका उनी जिवीत इतिहासको रुपमा चिनिदैँ आएका थिए । नेपाली कला र संस्कृतिको जिवित इतिहासको निधनले नयाँ पुस्तालाई बितेका शताब्दीसँग आमनेसामने साक्षात्कारको पुल टुटेको छ । उनको अवसान कुनै विशिष्ट क्षेत्रको मात्रै अवसान होइन समग्र खुला नेपाली समाजको विज्ञको अन्त्य हो । परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि शताब्दी पुरूष जोशीको शव नजलाइने भएको छ ।
आफ्नो शरीरलाई मरणोपरान्त चिकित्साशास्त्रमा विद्यार्थीहरुका लागि अध्ययन गर्न दान दिने उनकै इच्छा अनुसार किष्ट अस्पतालमा राखिएको छ । शताब्दी पुरुष जोशीको निधनले कुनै एक व्यक्ति, परिवार वा समुदायलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै अपुरणीयण क्षती पुगेको छ । आफ्नो जिवनकालमा कला साहित्यदेखि भाषा सबै क्षेत्रमा ठूलो योगदान दिएका शताब्दी पुरुषलाई मरणोपरान्त राज्यले पनि उचित सम्मान दिन जरुरी छ । शोक मनाउँदै सरकारले एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ तर कुन दिन विदा दिइने हो त्यो निर्णय नभइसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनको समीप रहेर काम गरेका र उनले नै स्थापना गरेका लोक साहित्य परिषद्का पदाधिकारी अन्तिम विदाईमा भावुक देखिए ।
पछिल्लो समय जोशीलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखिएको थियो । जोशीलाई विभिन्न विभागका चिकित्सकहरूले संयुक्त जाँच गरेका थिए । जोशीका एक पत्नि सहित तीन छोरा र तीन छोरी रहेका छन् ।


प्रतिक्रिया