देश

‘बीसिडी’ मोडल कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले विज्ञहरुसँग छलफल


काठमाडौं — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् ।

सो क्रममा नेता पौडेलले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णीम वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा . अरबिन्द कुमार मिश्र, राजनीतिक विश्लेषकद्वय पुरञ्जन आचार्य तथा गेजा शर्मा वाग्ले लगायतसँग भेटघाट र छलफल गरेका हुन् । डा. वाग्ले र पोखरेल नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिको सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।

भेटघाटका क्रममा आफ्नो क्षेत्रको समग्र विकास र बीसिडी मोडलको कार्यान्वयनका विषयमा छलफल गरेका हुन् । नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्ट विकासको कुरालाई मुख्य एजेण्डा बनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनमा होमिएका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन् । उक्त योजनालाई सुरुमा काठमाडौं–५, त्यसपछि काठमाडौं र देसैभरी लागू गर्ने योजनामा रहेका छन् पौडेल । भेटघाटका क्रममा समग्र निर्वाचनको विषयमा समेत छलफल भएको थियो । नेता पौडेलले अघि सारेको बीसिडी मोडलका नयाँ विकास मोडल हुनसक्ने विज्ञहरुले सुझाव दिएका थिए ।