देश

यातायात व्यवस्था विभागले थप १२ लाख कार्ड खरिद गर्ने


काठमाडौँ— गत बर्ष खरिद गरेको स्मार्ट कार्ड सकिन लागेपछि यातायात व्यवस्था विभागले थप १२ लाख कार्ड खरिद गर्ने भएको छ । लाइसेन्स वितरणलाई सहज र छिटो बनाउन १२ करोड रुपैयाँ लागत अनुमानमा विभागले १२ लाख कार्ड खरिद गर्ने भएको हो ।

विभागले हालै स्मार्ट लाइसेन्सको लागि आवश्यक कार्ड खरिदको लागि आइतबार टेन्डर आह्वान गरेको छ । अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले ठेक्का लिन सक्ने यो बोलपत्र आह्वानमा ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि ६५ लाख ६४ हजार रुपैयाँ अर्थात ५० हजार डलर रुपैयाँ राख्नुपर्ने टेन्डरमा उल्लेख छ ।

विभागले गरेको टेन्डर आह्वानमा स्मार्ट कार्डको डिजाइन स्वीकृत भएको तीन महिनाभित्र उक्त स्मार्ट लाइसेन्स सप्लाई गरिसक्नुपर्ने जनाइएको छ । विभागका अनुसार बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरि एक कम्पनी छनोट गर्ने छ ।