देश

सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने


काठमाडौँ— सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ ।

पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ ।जोशीले जीवित रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेकाले उहाँको शवलाई आजै किष्ट अस्पतालमा लगेर राख्ने तयारी छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको बिहान उपचारका क्रममा निधन भएको हो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनु भएको थियो।