Breaking

चुनावी भिडन्तका बेला पिङ खेल्दै ओली, ठिटो झैं ठाटिएर घोषणापत्र लेखन, माओवादी–काँग्रेस मैदानमा


काठमार्डाँ — राजनीतिक दलका चुनाव केन्द्रित गतिविधिले पाए तीव्रता, शीर्ष नेताहरु घोषणापत्रलाई अन्तिम रुप दिन व्यस्त, पुरानै आश्वासन पूरा नभएकोले जनतामा जान सकस । आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलहरु चुनाव केन्द्रीत गतिविधिमा होमिएर जनताको मत तान्ने तयारीमा छन् । यसका लागि नेतृत्वले अनेक कसरत चलाइरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोबचपन वृद्धअवस्थामा फर्कियो ।दसैं र तिहारकै बीचमै चुनावी पर्वमा होमिएका ओली शनिबार लाकुरी भञ्याङको पिङमा बेस्सरी मच्चिए ।

पार्टीका सुटेबुटे नेताहरुसहित निलो जिन्स र कालो ज्याकेटमा ठिटो झैं ठाटिएका ओली पिङ खेल्नकै लागि वा घुम्नकै लागि मात्र लाकुरी भञ्याङ गएका थिएनन् । उनी आगामी मंसिर ४ को निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्रलाई अन्तिम रुप दिने गरि त्यहा गएका थिए । अब ओली न हुन्, कार्यकर्ता र जनता लोभ्याउन जस्तोसुकै कलाकारिता देखाउन अब्बल छन् । उनी शुभचिन्तकलाई ‘हेलोहोई’ गर्दैपिङमा मच्चिएको भिडिओले अहिले सामाजिक सञ्जालमा हल्ला मच्चाइरहेका छ ।

कार्यकर्ता तिखार्ने र भोट निखार्ने गरि प्रमुख राजनीतिक दलहरु मैदान छिरेका छन् ।नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकै जस्तो चुनावी सरगर्मी अन्य साना दलमा पनि चढेको छ । दल दर्ता र उम्मेदवार टुंग्याएपछि जनताकाबीचमा गएर माहोल बनाउनु राजनीतिक दलका लागि कम्ता चुनौतीपूर्ण बनेको छैन । किनकि विगतमा गरिएका वाचा पुरा भएका छैनन् । अहिले पनि सत्ता केन्द्रीत राजनीतिलाई प्रमुख बनाएर चुनावमा गएपछि एजेण्डाकै आधारमा जनतालाई रिझाउने सम्भावना निकै न्युन छ ।तर दलहरु विपक्षी कमजोरीको हतियार चलाएर भोट बढाउने तयारीमा छन् ।

शनिबारमात्रै सत्ता गठबन्धनले सातै प्रदेशमा सातै भेला गर्ने निर्णय गरेको छ ।कात्तिक ४ मा सुरु भएर ७ मा सकाउने गरि संयुक्त भेलाको आयोजना गरेको गठबन्धनले एमाले नेतृत्वको गठबन्धनलाई हराउनेनीतिलाई मुख्य बनाएको छ । फुस्रा र आश्वासनले भरिपूर्ण भएपनि शुक्रबारमात्रै सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले घोषणापत्र जारी गरेको छ ।एमाले यसकै घनिभूत तयारीमा रहेका बेला माओवादीसहितका दलहरुसमेत आफुलाई जनताका नजरमा अब्बल देखाउन खोजिरहेका छन् ।त्यसका लागि विपक्षीमाथि मात्रै प्रश्न उठाएर होइन, व्यवस्थामाथि नै संकटको प्रश्न उठाएर भोट बटुल्ने दाउ रचेका छन् ।

तर चुनावकै मुखमा सबै दल आन्तरिक तनावमा परेका छन् । नेपाली काँग्रेसभित्र शेखर समूहको विद्रोहलाई देउवाले सल्ट्याउन नपाउँदै नेकपा एमालेमा पहिरो गएको छ । टिकट नपाएको झोकमा घनश्याम भुसालसहितका ठूला नेताहरुले विद्रोहको नाम दिएर पार्टी छोडेका छन् । नेकपा माओवादी केन्द्रबाट पनि टिकट नपाएकै कारण नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

दलहरु आन्तरिक कलहलाई सल्ट्याएर चुनावमा जानुपर्ने बाध्यतामा छन् । यसैकारण गाउँ टोल र शहर बजारसम्म दौडधुप चलिरहेको छ । होटल रिसोर्टदेखि कोठे बैठकबाट आफ्नै चाजोपाँजो गरिरहेका दलहरुलाई जनताले भने अनेक प्रश्न उठाइरहेका छन् । विगतमै गरिएका वाचामा मन भाँडिएपछि नयाँ फुस्रा रंगीभीरंगी आश्वसनमा मत दिन संकट देखिएको छ ।