Breaking

बौद्धिक पलायन रोक्ने नीति निर्माणको नेतृत्व गर्छु : प्रदीप पौडेले


काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपालमा व्याप्त बौद्धिक पलायनताको स्थिति रोक्नका लागि निर्माण गरिने नीति निर्माण प्रक्रियाको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका छन् ।

टोखा नगरपालिका-२ को वडा कार्यसमिति कार्यालयमा शनिबार आयोजित चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै उनले काठमाडौँ-५ बाट निर्वाचित भएर गए उक्त नीति निर्माण प्रक्रियाको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया जानुभएको छ । दुबई र कतार गएर ८०-८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पर्नुभएको छ । काठमाडौँका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको छ,’ पौडेलले भने, ‘नेपालमा वौद्धिक पलायनताको स्थिति छ । ब्रेन ड्रेनको समस्या छ । एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउनुे स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं ।’

देशमा देखिएको अहिलेको भ्रष्टाचारको स्थिति यथावत रहे नेपालको राजनीतिप्रति कसैको पनि विश्वास नजाग्ने उनको भनाइ थियो। नेता पौडेलले मुलुकमा देखिएका भ्रष्टाचार अन्त्यका निम्ति पनि नेतृत्व लिने प्रतिवद्धता जनाए ।

‘यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन । राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन,’ पौडेलले भने, ‘त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं ।’

उनले वौद्धिक पलायनता र भ्रष्टाचार रोक्ने योजनासँगै विकासलाई व्यवस्थित ढंगबाट अघि बढाउने विषय आफ्नो प्रधान विषय भएको पनि बताए । व्यवस्थित ढंगबाट विकासलाई अगाडि बढाउन सके थोरै खर्चमा धेरै उपलब्धी हासिल हुने पौडेलले जिकिर गरे ।

‘डेभलेपमेन्टमात्र होइन त्यसको म्यानेजमेन्ट पनि आवश्यक छ । व्यवस्थित ढंगबाट डेभलपमेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं,’ उनले भने, ‘यी तीन कुरा हाम्रा प्रधान विषयहरु हुन् । म यहाँहरुको बीचमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’