Breaking

आशंका र विवादकाबीच राष्ट्रिय खेलकुद सुरु, उद्घाटन सत्रमै कति रकम खर्चियो


काठमाडौँ — आशंकै आशंका र विवादकाबीच आज राष्ट्रिय खेलकुद महोत्सवले औपचारिकता पाएको छ । राष्ट्रपति भण्डारीको अनुपस्थितमा उपराष्ट्रपतिले उद्घाटन गरेसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक सुरुवात भएको हो । विभिन्न आशंकाकाबीच शुक्रबारदेखि नवौं बृहत् राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा नै सुरु भएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनले घोषणा गरेसँगै गण्डकी प्रदेशको कास्कीस्थित पोखरा रंगशालामा विशेष समारोहकाबीच खेलकुद कुम्भमेलाको उद्घाटन गरिएको हो । विगतका वर्षहरुमा राष्ट्रप्रमुखले उद्घाटन गर्ने परम्परा रहे पनि यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएका कारण उपराष्ट्रपति पुनले समारोहको उद्घाटन गरेका हुन् ।


३९ वर्षपछि गण्डकीमा फर्केको नवौं राष्ट्रिय खेलकुदमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरेका थिए । ३६ खेलका इभेन्टमा ४ सय ४ स्वर्ण र सोही अनुरुपरजत र ६ सय कांस्य पदकका लागि प्रतिस्पर्धा हुने नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सवमा कुल ६ हजार १ सय ५७ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितालाई सम्पन्न गर्ने मात्रै उद्देश्य भन्दा पनि यसले नेपाली खेलकुद र खेलाडीलाई नयाँ उचाई लाने विश्वास राखेपले लिएको छ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपीएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागी छन् ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विशेष खालको लेजर लाइटको प्रस्तुतिसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ब्यान्डका साथैअन्य विभिन्न प्रदर्शनहरु गरेका थिए । त्यस्तै व्यावसायिक कलाकारको प्रस्तुतीमा स्थानीय १९ विद्यालयका विद्यार्थीहरुले पनि साथ दिए । सबै प्रदेशको संस्कृति झल्किने प्रस्तुति दिइएको नवौं राष्ट्रिय खेलकुदलाई नेपाल सरकारले ८० करोड बजेट छुट्टाएको छ । जसमा उद्घाटन समारोहमा मात्रै तीन करोड खर्च हुने राखेपको पूर्व आंकलन थियो ।

राखेपको तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको अग्रसरतामा २०३८ सालमा राष्ट्रिय खेलकुदले उदाउने मौका पाएको थियो । प्रत्येक २÷२ वर्षमा प्रतियोगिता गर्ने भनिए पनि राजनीतिक अस्थिरता, व्यक्तिगत स्वार्थ र बीचमा विविध कारणले गर्दा त्यो सम्भव हुन भने सकेको छैन । परिणामत ४ दशक भईसक्दा पनि बल्ल नवौं संस्करण हुँदैछ । अहिले भइरहेको प्रतियोगिता पनि २०७७ सालमा नै भईसक्नु पर्ने थियो ।

यसअघि कोभिड १९ महामारी तथा गत वैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनको बहानामा थुप्रै पटकसम्म सरेको प्रतियोगिता यसपाली पनि त्यस्तै बहानाका कारण समयमा नहुने आशंका थियो । आशंकै आशंकाकाबीच भए पनि उद्घाटन सत्र सम्पन्न भएको छ । यद्यपि प्रतियोगिता भने सुरुवातमा नै विवादित बन्न पुग्यो । बिहीबारपुरुष फुटबलमा एनआरएनएले नेपाली राष्ट्रिय खेलाडीलाई सहभागी गराएपछि उद्घाटन खेल नै झण्डै डेढ घण्टा ढिलो गरि सुरु भएको थियो ।गराएको भन्दै चर्को विरोध भएको थियो ।

प्रदेश १ ले एनआरएनएको टिममा गैह्र आवासीय नेपाली नै हुनुपर्ने भन्दै चर्काे विरोध जनाएको थियो । गण्डकी प्रदेशका सात जिल्लाका साथै काठमाडौंमा समेत गरि ६ दिनसम्म चल्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सवको समापन कात्तिक तीन गते पोखरा रंगशालामै हुनेछ ।