Breaking

भीम रावल कायर कि ओली कठोर ? अझै हिसावकिताव गर्ने चेतावनी, पाँच बर्षलाई बन्द भयो चर्काे बोली


काठमाडौँ — अवको पाँच बर्षसंसदको रोस्टममा उभिएर भीम रावल बोल्नेछैनन् । किनकि पार्टीले टिकट नदिएपछि रावलको संसदीय राजनीति पाँच बर्षलाई पूर्णविराम लागेको छ । यद्यपी टिकट नदिएको भन्दै पत्रकार सम्मेलन गरेका उनले अध्यक्ष ओलस्माथि विषवमन गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ को पुष २४ मै भनेका थिए, ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्याथिएँ। अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । नानी भन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ ।’

तत्कालिन प्रधानमन्त्रीसमेत रहेका ओलीले धनगढीमा आयोजित सभामा ठ्याक्कै यही अंशबोलेका थिए ।उनले ‘एउटा केटो’ भन्दै महत्वहीन व्यक्तिका रुपमा प्रस्तुत गरेका नेता उनै भीम रावल थिए । त्यही बर्षको पुष ५मा ओलीले पहिलोपटक संसद विघटन गरेपछि रावल त्यसको विपक्षमा उभिएका थिए ।

प्रतिफल स्वरुप पार्टीबाट कारबाहीमा पर्दैएउटा केटोको स्थान पाएका रावलसँग ओलीको दूश्मनी यति भयंकर बन्यो कि २०७९ को असोज २१ मा आएर टिकटबाट बञ्चित हुनुपरेको छ । रावललाई ओलीले टिकट नदिएपछि धरैको आकलन थियो, घनश्याम भुसालजस्तै पार्टी छोड्छन् र स्वतन्त्र वा फरक पार्टीको समर्थनमा उम्मेदवारी दिन्छन् । तर रावलले कुनै उम्मेदवारी दिएनन्, बरु बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओलीविरुद्ध आगो ओकलेका मात्रै छैनन्, टिकट नपाउनुको कारण पनि छरपस्ट पारेका छन् ।

ओलीसँग बाँझिएका असहमतिलाई एकपछि अर्काे गर्दै सूची नै बनाएर बोलेका रावलले अब भन्न बाँकी केही छैन । विगतमा चलेका टकराव रएमालेभित्र चर्किएको द्वन्द्वमा ओलीलाई नै मुख्य दोषी करार गरेका रावलले नेकपा विभाजन हुँदै माधव नेपाल बाहिरिनुको कारण पनि ओलीकै व्यक्तिवादी शैलीमाथि खन्याएका छन् ।तर यतिविधि विषवमन भइसक्दा समेत पार्टीविरुद्ध जाने निर्णय रावलले गरेका छैनन् । बरु पार्टीभित्रै बस्ने, विद्रोह गर्ने र अन्यायविरुद्ध लड्दै राष्ट्रिय स्वाधिनताका पक्षमा उभिने अठोट गरेका छन् ।

असंवैधानिक कदमको विरोध गरेकै कारण पार्टीभित्र निषेधमा पर्दै टिकटबाट टुक्र्याइएको दाबी रावलको छ ।संसदमा उभिएर राष्ट्रहितका पक्षमा बोलेकै कारण बञ्चित गरिएको उनी बताउँछन् ।एमसीसी र एसपीपी जस्ता सम्झौतामा विपक्षमा उभिएपछि ओलीको तारो बनेको रावलको ठोकुवा छ । १०बुँदे जस्ता सहमति कार्यान्वयनमा ओलीबाटै बेइमानी भएको आरोपसमेत लगाएका छन् ।तर आफु टिकट नपाएपनि एमालेका उम्मेदवारलाई जिताउन भोट माग्न भने छुटाएका छैनन् ।

यद्यपी एमालेभित्र रगत पसिना बगाएका भन्दा पनि विगतमा उछित्तो काढेका, विदेशीको चाटुकार र चाकडी गरेका, अनि चाप्लुसी गर्दै आएकाहरुलाई पनि टिकट दिएको भन्दै त्यस्ताको पक्षमा मत नमाग्ने रावलको दाबी छ ।तर अब रावल पाँच बर्षका लागि संसद विहिन भएका छन् । उनका चर्काे स्वर संसदमा सुनिने छैन । किनकि ४८ सालमा पहिलोपटक निर्वाचन लड्दै पराजय ब्यहोरेका रावलले त्यसपछिका निर्वाचन हारेका थिएन् ।

५१ मा निर्वाचित भएर ६४ मा समानुपातिकबाट आएपनि ७० र ७४ मा अछाम १ बाटै निर्वाचित भएका रावललाई अहिले ओलीले पूर्णविराम् लगाइदिएका छन् । रावल जस्तै घनश्याम भुसाल, प्रभु साह र रामवीर मानन्धरसहितका केही नेताहरुलाई निषेधकै नीति लिएपछि एमालेमा विद्रोह देखिएको छ । तर ओलीको बलियो साथ पाएका नेताहरु यसलाई स्वीकार्न तयार देखिदैनन् ।

भीम रावलको संसदीय राजनीति पाँचबर्षका लागि दर्शकद्रिघामा पुगेपनि पार्टीको ११ औं महाधिवेशनबाट पुनः स्थापित हुने र संसद छिर्ने तयारी देखिन्छ । ओलीको पार्टी राजनीति अन्तिमतिर पुगिरहेका बेला एमालेमा फेरि पकड बनाउन सकिन्छ भन्ने विश्वासकै कारण उनले पार्टी छोड्ने आट गरेका छैनन् । तर निर्वाचनकै मुखमा ओलीबाट निषेधमा परेका नेताहरुको प्रभावले अंकगणितमा चुनौती थपिएको छ ।