Breaking

समानुपातिकको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु


काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छाप्न सुरु गरेको छ ।

उम्मेदवारको मात्रै चिह्न समेटेर आयोगले मतपत्र बिहीबारदेखि छाप्न सुरु गरेको हो । हरेक क्षेत्रको फरक मतपत्र छाप्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्न थालिएको छ । नेपाली सेनाको पहरामा आयोगले मतपत्र छपाइ थालेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रको फरकफरक मतपत्र हुने भएकाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशमा ३ सय ३० प्रकारका मतपत्र हुनेछन् । आयोगका अनुसार प्रत्यक्षतर्फ ४ करोड मतपत्र छाप्नुपर्ने हुन्छ समानुपातिकतर्फको मतपत्रमा उम्मेदवार नै नभएका दलको चिह्नसमेत राखेर छपाइ सकिएको छ ।

मंसिर ४ मा हुने निर्वाचनमा कुल ५ सय ३ प्रकारका मतपत्र हुनेछन् । समानुपातिकमा ४ करोड ५५ लाख मतपत्र छपाइ सकिएको प्रमुख आयुक्त थपलियाको भनाइ छ । प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ८८ मतदाता छन्  । यस्तै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले आचारसंहितामा कडाइ गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बिहीबार बसेको बैठकले आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै आयोगले आउँदो निर्वाचनमा मत सर्वेक्षणमा पनि रोक लगाएको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न, परिणाम घोषणा गर्न रोक लगाएको हो ।