देश

प्रदेश १ मा तीन सय ७० जनाको निःशुल्क आँखा जाँच गरियो


काठमाडौँ— विश्व दृष्टि दिवसका अवसरमा विराटनगर आँखा अस्पताल मातहतका उपचार केन्द्रहरुले सर्वसाधारणको आँखाको परीक्षण गरेका हुन् । भोजपुर, तेह्रथुम, इलाम, फिक्कल, मंगलबारे, अर्जुनधारा, उर्लाबारी, रतुवामाई, लेटाङ, विराट चोक, रंगेली, दुहवी र इनरुवासमेतका उपचार केन्द्रले सर्वसाधारणको आँखाको निःशुल्क जाँच गरेका हुन् ।

विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले आँखा स्वास्थ्य शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको जानकारी दिए । चेतनामूलक कार्यक्रमका साथै सर्वसाधारणको मधुमेह, रक्तचाप तथा दृष्टि जाँच गरिएको उनको भनाइ छ । उनका अनुसार परीक्षण गरिएकामध्ये ३४ जनामा दृष्टि दोष र १३ जनामा मोतियाविन्दुको समस्या रहेको पत्ता लागेको छ । मोतियाविन्दुको समस्या रहेकालाई आँखा उपचार केन्द्रहरुले निःशुल्क शल्यक्रियाका लागि विराटनगर आँखा अस्पतालमा रेफर गरेका छन् । उनीहरुको उपचार निःशुल्क गरिने प्रबन्धक पृथुले बताए ।

उनका अनुसार विराटनगर आँखा अस्पतालले ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व दृष्टि दिवस मनाएको छ । सर्वसाधारणमा चेतना जगाउन र आँखाको उपचारमा सबैलाई प्रेरित गर्न प्रत्येक वर्ष अक्टुबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको पृथुले बताए । आँखा उपचार सेवालाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँग समन्वय गर्ने गरिएको उनको भनाइ छ ।‘मोतियाविन्दुको समस्या रहेकामध्ये आधाभन्दा बढीलाई त्यसका बारेमा जानकारी र कुनै ज्ञान नै छैन ।