देश

पशुपतिमा चढाइएका सामग्री बिक्री हुने


काठमाडौँ— पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुले अर्पण गरेका सामग्री बिक्री गर्न थालेको छ । पशुपतिनाथ मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि कोषले बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

कोजाग्रत पूर्णिमाको अवसर पारेर कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बिक्री कक्षको उद्घाटन गरेका हुन् । दर्शनार्थीले भगवानलाई अर्पण गरेका सामग्री, प्रसाद अन्य रुपमा उपयोग होस् भन्ने उद्देश्यले सहुलियत मूल्यमा बिक्रीको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साथै, कोषले पशुपतिमा आउने भक्तजनहरुलाई यसको लाभ लिन पनि आग्रह गरेको छ । बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिणतर्फ रहेको पूरानो सप्तमी सत्तलसँगै बनाइएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने कक्षमा कोषले प्रकाशन गरेका पुस्तकहरुसमेत उपलब्ध छन् ।२०७२ सालको महाभूकम्पपछि बिक्री कक्ष बन्द गरिएको थियो ।