काठमाडौँ— नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन बिहीवार पोखरा आएका छन् । असोज २८ गते शुक्रवार ४ बजे पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन् ।बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
उपराष्ट्रपतिको पोखरा आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन नसक्ने जनाइएको छ । गण्डकी प्रदेशका आठै जिल्लामा शुक्रवारदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ ।
प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । शुभारम्भका लागि पोखरा रंगशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।
प्रतिक्रिया