Breaking

काठमाडौँले देश बनाउने नेतालाई विश्वास गर्छ : प्रदीप पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौँले देश बनाउने नेतालाई विश्वास गर्ने बताउनु भएको छ ।
कांग्रेस काठमाडौँ-५ ले बिहीबार गरेको क्षेत्रीय प्रतिनिधि भेला सम्बोधन गर्दै पौडेलले काठमाडौँका मतदाताले विकृतिहरु अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्ने बताउनु भएको हो । पौडेलले निर्वाचित भएर गएपछि मतदाताको भरोसामाथि कुठाराघात नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘मलाई विश्वास गर्नुस् । तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन । तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु,’ नेता पौडेलले भने, ‘तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु ।’

पौडेलले काठमाडौँले देश बनाउने नेता र विकृतिहरु अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्ने सहरका रुपमा चर्चा गर्दै राजनीतिमा रहेको विकृति सफा गर्ने आफ्नो पहिलो उदेश्य भएको बताए । संघीय राजधानी काठमाडौंलाई सफा गर्ने आफ्नो दोस्रो उदेश्य भएको पौडेलको भनाइ थियो।

‘काठमाडौँले देश बनाउने नेतालाई विश्वास गर्छ । विकृतिहरुलाई अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ । आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ,’ उनले भने, ‘राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजधानीलाई पनि सफा गर्ने उदेश्य हो ।’

संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौँलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति विशेष योजनाहरु ल्याउने पनि उनले बताए ।

पौडेलले खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौँको ट्राफिक जामलाई अन्त्य गर्न विशेष योजना ल्याउने पनि बताए । ‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने, सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने छौं,’ पौडेलले भने ।

उनले काठमाडौँ –५ बाटै देश बनाउने नीति बन्नु पर्ने र उक्त नीतिको नेतृत्व गर्ने नेता पनि काठमाडौँ –५ बाटै आउनुपर्नेमा जोड दिए । ‘काठमाडौँको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो । यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ,’ पौडेलले भने, ‘राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा । त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ । देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ । ’