Breaking

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ – बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।

अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार दोस्रो पटक पाँच दिनको म्याद थप गरेको हो ।

जिल्ला सरकारी वकिलले थप सात दिन मागेको थियो। विगतमा पनि सात दिन दिएको र बयान पनि आधा सकिएकाले कम समय दिनुपर्ने माग सन्दीपका कानुन व्यवसायीहरुले गरेका थिए । छिटै मुद्दाको किनारा गर्नुपर्ने भन्दै उनीहरुले ३ दिनको मात्र समय दिनुपर्ने माग गरेका थिए । अदालतले बयानदेखि अनुसन्धान सक्न भन्दै असोज ३१ गतेसम्म न्यायिक हिरासतमा राख्न भनेको छ ।

यस्तै जिल्ला न्यायाधीशले छिट्टै मुद्दा दायर गर्न सरकारी वकिललाई निर्देशन पनि गरेका छन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । उनलाई प्रहरीले असोज २० गतेदेखि न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नेपालमा जाहेरी दर्ता हुदाँ उनी विदेशमा रहेका थिए ।