Breaking

‘स्वतन्त्र’ उम्मेदवार सुमन सायमीलाई लौरो


काठमाडौँ — काठमाडौँ क्षेत्र नम्बर ८ का उम्मेदवार सुमन सायमीले लौरो चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा खडा भएका सायमीले हाम्रो नेपाली पार्टीसँग सम्झौता गरेर लौरो चिन्ह लिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा सायमीले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा उठेर मत प्राप्त गरेका थिए । यसपटक उनले प्रतिनिधिसभा सदस्यका लागि दाबी गरेका छन् ।

स्थानीय चुनावमा बालेन्द्र शाहसँग प्रतिस्पर्धा गरेका सायमीले निर्वाचनको नतिजा आएलगत्तै बालेन्द्रको विजय जुलुसमा सहभागिता जनाएर उनलाई बधाई दिएका थिए । अहिले उनी बालेन्द्रले पाएकै लौरो लिएर चुनावी मैदानमा खडा हुन आएपुगेका छन् ।

पछिल्लो समयमा काठमाडौँका अवैध संरचना भत्काउने बालेन्द्रको अभियानलाई भने सुमनले आलोचना गर्दै आएका छन् । सडक विस्तारलाई समर्थन जनाएउ पनि निजी सम्पत्ति भत्काउँदा क्षतिपूर्ति दिइनुपर्ने सायमीको मत छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर गरी ६ वटा वडाहरु समेटिएका छन् । साथै नागार्जुुन नगरपालिकाका वडा नम्बर ४ र ५ पनि यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

गत स्थानीय चुनावमा यस निर्वाचन क्षेत्रबाट कांग्रेसले ७ हजार ४६७ मत पाएको थियो भने एमालेले ७ हजार ४४५ मत पाएको थियो । यस क्षेत्रबाट बालेन्द्रको लौरोमा ६ हजार १४५ मत खसेको थियो ।

स्थानीय चुनावमा सुमन सायमीले यस क्षेत्रका ६ वटा वडाहरुबाट सायमीले ४ हजार ८४६ मत पाएका थिए ।

बालेन्द्र र सुमनले पाएको मत जोड्दा १० हजार ९९१ पुग्छ । स्थानीय चुनावको यो आँकडा हेर्दा काठमाडौँ ८ मा लौरो पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा देखिन्छन् ।

काठमाडौँ क्षेत्र नम्बर ८ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता एवं बहालवाला मन्त्री जीवनराम श्रेष्ठ उठेका छन् । त्यस्तै, नेकपा एमालेका तर्फबाट शिव सुन्दर राज वैद्य उठेका छन् । यहाँ राप्रपाले प्रकाश रिमाललाई उठाएको छ ।