Breaking

जो माओवादी द्धन्दमा खोटाङमा हजारौँको नागरिकता बनाउन साक्षी बसे


काठमडौँ– नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभाका निवर्तमान सांसद विशाल भट्टराई वि.स. २०५४ सालमा २९ वर्षका थिए । आर.आर. क्याम्पसमा पढ्दै विद्यार्थी राजनीतिमा सक्रिय थिए । कक्षा ७ मा पढ्दै देखि अनेरास्ववियुमा संगठित भएका भट्टराई त्यो बेला नेकपा एमालेको केन्द्रीय राजनीतिलाई नजिकबाट नियाल्ने र गहन बहस गर्ने भइसकेका थिए । विद्यार्थी राजनीतिसंगै काठमाडौँमै जीवन गुजारा गर्ने उनको सोँच थियो ।

तर २०५४ सालमा तात्कालिन नेकपा एमाले पार्टी विभाजन भयो । वामदेव गौतम, सीपी मैनाली लगायतले पार्टी विभाजन गरि नेकपा माले गठन गरेपछि एमालेको ठूलो हिस्सा मालेमा प्रवेश गर्याे । त्यसको बाछिटा खोटाङमा पनि पर्याे । संकटको घडीमा जिल्लामा नेकपा एमालेको नेतृत्व गर्ने नेताको अभाव भयो । र नेकपा एमालेले नै त्यो बेला पार्टी विभाजनको स्थिति सम्हाल्न खोटाङमा विशाल भट्टराईलाई खटाएको थियो ।

त्यसपछि जिल्ला सदस्य हुँदै भट्टराईले नेकपा एमालेको सचिव र अध्यक्ष बनेर जिल्लामा नेतृत्व गरे । त्यसबेलाको संघर्ष सम्झदै नेता भट्टराईले भने, ‘खोटाङमा पनि माओवादी द्धन्द चर्किँदै गयो, संगठन जोगाउने चूनौती छँदै थियो, निहत्था जनताले पनि दुख पाउन थाले । म माथि झनै जिम्मेवारी बढेको आभाष भयो । सडकको सुविधा नपुगेको त्यो बेलाको दुर्गम समयमा मानिसहरु नागरिकता बनाउन २÷३ दिन लगाएर हिँडर सदरमुकाम दिक्तेल आउँथे ।

एकातिर माओवादी लडाकुको आशंकामा प्रशासनले नागरिकता नबनाउने, अर्कातिर माओवादीले भेटिहाले बाटैमा अपहरण गर्नेसम्मको जोखिम थियो । यस्तो बेला भट्टराईले दिक्तेलमै बसेर जिल्लाका साविकका ७८ वटै गाविसका नागरिकको नागरिकता बनाउन साक्षी बसेका थिए । उनले सम्झे, ‘त्यसबेला सीडीओले नागरिकता बनाउनै डराउथे, मैले यो मान्छेको जिम्मा म लिन्छु, नागरिकता बनाइदिनु भन्दै अविभावकीय जिम्मेवारी लिएँ ।’

यसरी उनले वि.स. २०६२ सालसम्म दिक्तेलमा बसेर जिल्लाभरका मानिसहरुको नागरिकता बनाउन सहयोग गरे । भट्टराईको त्यो गुण अहिले पनि खोटाङका जनताले सम्झीरहेका छन् । खोटाङ बराहपोखरीका ५० वर्षिय सेर राईले भने, ‘मेरो छोरा र छोरीको नागरिकता उनै विशाल भट्टराईले बनाइदेका हुन् । त्यो बेला विशाल भट्टराईले मलाई जस्तै थुप्रै गाउँलेलाई साथी गरे । त्यही भएर विशाललाई सबैले नेता मान्छन् र निर्वाचनमा भोट दिन्छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्र पछि विशाल भट्टराई जिल्ला राजनीतिबाट केन्द्रीय राजनीतिमा उक्लीए । गणतन्त्र नेपालको पहिलो संविधान सभा निर्वाचन २०६४ मा उम्मेद्वार बने । तर विजयी हुन पाएनन् । संविधासभाको दोस्रो निर्वाचन २०७० बाट संविधान सभा सदस्य बने । प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि विशाल भट्टराईले लाकप्रिय मत सहित सांसद बन्ने मौका पाए ।

त्यो चुनावमा प्रतिद्धन्दीसंग १४ हजार मत अन्तरले विजयी हासिल गरे । यस अवधीमा पटक पटक मन्त्री बन्ने चर्चा पनि भयो तर मन्त्री बन्ने अवसर पाएनन् । तर सर्वाेपरी विकासका खातिर खोटाङका जनता यस पटक विहाल भट्टराईले सांसद बनेर मन्त्री भएको हेर्ने रहर गरेका छन् ।