काठमाडौँ— म्यानमारको एउटा अदालतले नेतृ आङ सान सुकीलाई थप काराबास सजाय सुनाएको छ । उनलाई अर्को भ्रष्टाचारको मुद्दामा उक्त सजाय सुनाइएको हो । झण्डै दुई वर्षदेखि सैनिक शासन लागु भएको म्यानमारमा सुकीलगायत अधिकांश राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जेल र नजरबन्दमा राखिएको छ ।
पछिल्लो आदेशसमेत जोडिएपछि ७७ वर्षे नेतृमाथि २६ वर्षको काराबास सजाय भएको छ । सन् २०२१ को फेब्रुअरी १ तारिखका दिनदेखि सेनाले म्यानमारको निर्वाचित सरकार अपदस्थ गरेर सत्ता आफ्नो हातमा लिएको छ । सोही बेलादेखि उनीमाथि विभिन्न भ्रष्टाचारको आरोप लगाइएको हो । सुकीले साढे पाँच लाख अमेरिकी डलर लागुऔषध तस्कर तथा टाइकुन मुआङसँग लिएको गम्भीर आरोप पनि लगाइएको छ ।
तर उनले ती सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सुकीविरुद्ध एक दर्जन भ्रष्टाचारको मुद्दा लगाइएको छ । उनलाई यसअघि नै विभिन्न आरोपमा २३ वर्षको कारावास सजाय सुनाइएको छ । त्यहाँबाट प्राप्त समाचारमा सुकीविरुद्ध देशद्रोह,चुनावमा धोखाधडी,कोभिड प्रोटोकलको उल्लंघनलगायत आरोप लगाइएको छ ।


प्रतिक्रिया