Breaking

नेकपा एमालेले डडेल्धुरा र चितवनमा मनोनयन फिर्ता


काठमाडौँ — नेकपा एमालेले डडेल्धुरा र चितवनमा आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । अध्यक्ष केपी शर्मा ओलीकै पत्रबाट डडेल्धुरामा उम्मेदवारी दिएका चक्रप्रसाद स्‍नेही र चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेको मनोनयन फिर्ता लिइएको हो । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले एमाले अध्यक्ष ओलीकै हस्ताक्षरमा निवेदन आएपछि स्‍नेही​को नाम उम्मेदवार सूचीबाट हटाइएको बताए ।

डडेल्धुरा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवनको ३ नम्बर क्षेत्रमा अहिले माओवादीकै डा।भोजराज अधिकारी उम्मेदवार छन् । दुवै क्षेत्रमा एमालेले गठबन्धन विरोधी उम्मेदवारलाई समर्थन गर्ने भएको छ। डडेल्धुरामा एमालेले देउवाकै पूर्वसहकर्मी नेपाली कांग्रेस (विपी) का कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ ।

चितवन ३ मा पनि एमालेले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । गठबन्धनमा यो क्षेत्र नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । सोही बमोजिम डा.अधिकारीलाई माओवादीले उठाएको हो । कांग्रेस नेता कोइरालाले उम्मेदवारी फिर्ता नलिएको र एमालेले सघाउने भएपछि गठबन्धनका उम्मेदवार अधिकारीलाई चुनौति थपिएको छ । एमालेका न्यौपानेको उम्मेदवारी पनि ओलीले निवेदन हालेर फिर्ता लिएका हुन् ।