समाचार

सरकारले तोक्यो पानीको मूल्य, जारको ४७ रुपैयाँ


काठमाडौँ – सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो । यद्यपि विभागले नै जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो । अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो। विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ । फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रति जार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो ।

यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो । त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए ।

विभागले काठमाडौं उपत्यकामा २० लिटरको जार पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, उपत्यकामा १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ कायम गरेको छ ।

विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाए पनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ । त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ ।