Breaking

तरवारमाथि हिड्दै ओली, विद्रोहले ल्यायो संकट, बागी हालेका नेतालाई झनै चलाए कारबाहीको डण्डा


काठमाडौँ— अध्यक्षको मनोमानी र टिकट वितरणमा विभेदमा परेपछि एमालेमा पार्टी छोड्नेको संख्या बढेको छ । यतिनै बेला ओली असन्तुष्टलाई मिलाएर तालमेलमा जोडिएका दलको व्यवस्थापन गर्ने संकटमा फसेका छन् । निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्टि चुलिएपछि एमाले अध्यक्ष ओलीलाई आफ्नै पार्टी थाम्न तरवारमाथि हिड्नुपरेको छ । यसको परिणाम मंसिर पछि आउछ नै ।

तर अहिले भइरहेका गतिविधिले शुभ संकेत गरेको छैन । किनकि टिकट वितरणअघि तराई दौडलाई तीव्र बनाएका ओलीले अहिले तराई मधेशमै भटाभट नेता कार्यकर्ता गुमाउनु परेको छ । टिकटकै टकरावले प्रभु साह लगायतको पंक्ति बाहिरिएपछि ओलीलाई गठबन्धनविरुद्धको मुकाबिला मंहगो पर्ने देखिन्छ । जसपाबाट टिकट नपाउने भएपछि एमालेतिर सल्किएकाहरु पनि अहिले एमाले–जसपाबीच गठबन्धन बनेपछि झनै संकटमा परेका छन् ।

टिकटबाट बञ्चित भएर विद्रोह स्वरुप स्वतन्त्र उम्मेदवारी दिएरहरुलाई पनि ओलीले छोडेका छैनन् । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हालेको भन्दै ओलीले सदस्यता अभिलेख मेटाउने भएका छन् । जसमा स्वतन्त्र उम्मेदवारीको नाम दिएर सत्ता गठबन्धनको समर्थनसहित रुपन्देही १ मा उठेका घनश्याम भुसाल, रौतहटमा उम्मेदवारी दर्ता गराएका प्रभु साह र कुन्दन साह, दाङमा स्वतन्त्र हालेकी गंगा चौधरी र डोल्पाका बदमी बुढा रहेका छन् । तर टिकट नदिएपनि पार्टीविरुद्ध नगएका भीम रावलप्रति भने ओली चुप देखिएका छन् ।
आफुविरुद्ध फरक मत जाहेर गरेकै कारण रावल र भुसाललाई ओलीले टिकट नदिएर सजाय दिएका हुन् भने बाँकी आश्वासन पाएर पनि टिकट नपाएपछि बाहिरीएका हुन् ।

तर फरक मतकै नाममा सधैं नेतृत्वको विरोध गरिराख्ने विरोधीको शैलीमाथि पनि आलोचना भइरहेको छ । टिकट नपाएकै कारण पार्टी छोडेपछि अवसरवादी ट्यागसमेत झुण्डिएको छ । तर उनीहरुबीचको टकरावले पार्टीभित्र विद्रोह जन्माएको छ, जसले एमालेको अंकगणितले प्रभावित पार्ने आँकलन गरिएको छ ।