काठमाडौँ— अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । बाढी पीडित स्थानीय भने सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित भएका छन । एक साता लामो अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परे । कर्णालीको बाढी नै त्यस आसपासका केही गाउँभित्र पसेर विध्वंस नै मच्चायो । डुबानले अहिले स्थानीयलाई घरबारविहिन मात्रै बनाएको छैन, वर्षाैंसम्म पुग्ने अन्नबालीमा समेत पूर्ण क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन । अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको छ ।
तर कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको छ । बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको स्थानीय गुनासो गर्छन । कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएपछि स्थानीय थप त्रसित बनेका छन् । पीडित भने यतिबेला बाढीले घरबारविहिन हुँदा समेत स्थानीय सरकारको केही सहयोग भएपनि संघीय सरकार रमिते बनेको गुनासो गर्छन । गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै स्थानीय पीडितहरु आक्रोशित बनेका छन । गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन नगरेको स्थानीयको आरोप छ ।
वर्षाले पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरुमा पनि पहिरोको जोखिम बढाएको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा पनि प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले शतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै विभागले बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने अनुमान गरेको छ ।


प्रतिक्रिया