काठमाडौँ— नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालका लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताउनु भयो । उहाँले नेपालमा गैर आवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताउनु भयो । ढकालले निजी क्षेत्रको सहकार्यमा गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ ।
गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न शुरु गर्नुभएको छ ।यसलाई थप प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह छ । गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्छु । तपाईहरुले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ ।’वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा शुरु भएको पनि बताउनु भयो ।
प्रतिक्रिया