देश

आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने


काठमाडौँ— नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुदैँ गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताएका छन् । मौसमविद् भट्टराईले मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ भने बिहीबारदेखि देशैभर मौसम सफा रहने बताएका छन् । जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ । हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।