Breaking

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, जसपाका मन्त्रीलाई हटाउनेबारे छलफल


काठमाडौँ – सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ । बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभामा परेको बागी उम्मेदवारी र जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ ।

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण उक्त पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मुडमा छन् ।

प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।