समाचार

कसरी फर्किँदैछन् लुक्लामा अलपत्र पर्यटक ?


काठमाडौँ — मौसममा आएको खराबीले उडान नहुँदा लुक्लामा २५० बढी विदेशी पर्यटक अलपत्र परेका छन् । मौसममा बदली आएर हवाई यातायात सेवा प्रभावित हुँदा पर्यटक खुम्वु क्षेत्रमा अलपत्र परेका हुन् । लगातारको वर्षा र हुस्सुका कारण उडान हुन नसक्दा पर्यटक अलपत्र परेको नागरिक उड्‍डयन प्राधिकरण लुक्लाले  जनाएको छ ।

लामो समयसम्म हवाई सेवा सञ्चालन नभएपछि पर्यटक सडक यातायातबाट काठमाडौँ फर्किन थालेको सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए । प्रजिअ खनालका अनुसार खरी खोलासम्म गाडीमा गएर त्यहाँबाट गन्तब्यसम्म जान थाले पनि केही जहाज कुरेर बसिरहेको बताए ।

प्रजिअ खनालका अनुसार अहिले खुम्वु क्षेत्रमा करिब २५० को संख्या पर्यटक मौसममा सुधारको अपेक्षा गरेर बसिरहेका छन् । होटल तथा आवासको सुविधा पर्याप्त रहेकाले खान र बस्न भने पर्यटकलाई असुविधा नरहेको उनले जानकारी दिए ।

केही दिनदेखिको लगातारको झरीका कारण हवाई सेवा प्रभावित हुँदै आएको छ ।