Breaking

ओखलढुंगामा यज्ञराज र रामहरिको पेचिलो प्रतिस्पर्धा


काठमाडौँ — ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका रामहरि खतिवडा र विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार पेचिलो प्रतिस्पर्धा हुनेभएको छ । अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए ।

अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि माओवादीको भूमिकाले अर्थ राख्ने गरेको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण सुनुवारलाई सहयोग गरेको थियो । यसपटक सत्ता गठबन्धन बनाएर खतिवडालाई सहयोग गर्दैछ ।

०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा माओवादीले ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेलाई पराजित गरेको थियो । तर ०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादीले ती दुवै क्षेत्र गुमाएन मात्रै आफ्नो भोटसमेत व्यापक घटायो । तर, त्यसपछिका निर्वाचनमा भने माओवादी थोरै मतसहित कहिले एमाले, त कहिले कांग्रेसको सहयोगी भएर पनि निर्णायक छ ।

पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका खतिवडाले टिकट पाएनन् भने एमालेका सुनुवार माओवादी उम्मेदवारसँग पराजित भएका थिए । दोस्रो संबिधानसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गरेर सुनुवारले निर्वाचन क्षेत्र नम्बर १ र खतिवडाले निर्वाचन क्षेत्र नम्बर २ मा जिते । उक्त चुनावमा सुनुवारले प्रतिस्पर्धी भन्दा करिब ३ हजार बढी मत र खतिवडाले प्रतिस्पर्धी भन्दा करिब ५ हजार बढी मत ल्याएर विजयी भएका थिए ।