Breaking

१० निर्वाचन क्षेत्रको काठमाडौँमा महाभिडन्त, क–कस्ले मार्लान् बाजी ?


आम निर्वाचनको लागि उम्मेदवारी मनोनयनसँग देश निर्वाचनमय भएको छ । चुनाव जित्ने रणनीतिका साथ काठमाडौँका १० वटै क्षेत्रमा पार्टीहरुले आफ्नो उम्मेदवार खडा गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनसँग प्रतिष्पर्धा गर्न एमाले र राप्रपाबीच तालमेल हुने भनेपनि अन्तिम समयमा आएर दुवै पार्टीले आ–आफ्ना छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराए । भर्खरै विवेकशील साझा छोडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र र एमालेका किरण पौडेल चुनावी मैदानमा उत्रिए । त्यस्तै नेपाल सुशासन पार्टीबाट रमेश खरेल मैदानमा होमिदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले आफ्नो दावेदारी पेश गरे ।

नेपालको इतिहासमा पहिलो पटक महिला सभामुख बनेकी ओन्सरी घर्ती मगरले सांसद बन्नका लागि काठमाडौँ २ लाई रोजेकी छन् । यसअघिको निर्वाचनमा नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित सो क्षेत्रमा एमालेले मणिराम फुयाललाई उम्मेदवार बनाउँदा राप्रपाले नवराज सिम्खडालाई प्रतिष्पर्धीको रुपमा उतारेको छ । अधिवक्ता समेत रहेका प्रकाश अधिकारीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेका निर्वतामान सांसद् कृष्णमान राईसँग क्षेत्र नम्बर ३ मा गोकर्णेश्व नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे भिड्दै छन् । यसअघि कुलमान घिसिङलाई उठाउने चर्चा चले पनि गठबन्धनमा असन्तुष्ट रहँदै माओवादी केन्द्रबाट बद्री बजगाईले आफ्नो दावेदारी पेश गरे । निरञ्जन पुडासैनीलगायतका अन्य स्वतन्त्रको पनि त्यहाँ उम्मेदवारी परेको छ । राप्रपाबाट गणेश गिरी उठ्दा निरन्जन पुडासैनीलगायतका स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा गठबन्धनले कांग्रेसबाट गगन थापालाई उठाउँदा पहिलोपटक संसद् पुग्न कसरतमा रहेका एमालेकाराजन भट्टराई अघिल्लो चुनावको हारको बदला लिने मनस्थितिमा छन् । त्यस्तै राजनीतिक विश्लेषक अर्जुन प्रसाई पनि यी दुईलाई टक्कर दिन स्वतन्त्रबाट लड्दै छन् । राप्रपाबाट भने डा.ठाकुरमोहन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ५ मा पनि चर्चित अनुहारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उठाउँदा गठबन्धनका तर्फबाट कांग्रेसका लोकप्रिय युवा नेता प्रदीप पौडेलले दावेदारी पेश गरेका छन् । त्यस्तै काठमाडौँको मेयरमा उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु दर्शना र कलाकार मधुसुदन पाठक (सीतेबा) ले पनि स्वतन्त्रबाटमनोनयन दर्ता गराएका छन् ।

काठमाडौँ ६ मा एमालेका तर्फबाट पूर्वप्रहरी आईजीपी सर्वेन्द्र खनालले कांग्रेसबाट दुई पटक निरन्तर जितेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानको सामना गर्दै छ । स्वतन्त्र पार्टीबाट भने शिषिर खनाल चुनावी प्रतिष्पर्धामा उत्रिँदै छ । सत्ता गठबन्धनबाट बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आफ्नो आमाको निर्वाचन क्षेत्र ७ मा विरासत फर्काउन मैदानमा उत्रेकी छन् ।

एमालेको तर्फबाट पुराना नेता श्याम घिमिरे उम्मेदवार बन्दा विद्रोह गर्दै पूर्वराज्यमन्त्री तथा निर्वतमान सांसद रामवीर मानन्धरले भने बागी उम्मेदवारी दिएका छन् । त्यस्तै एमाले र जसपाबीच तालेमेल भए पनि यस क्षेत्रमा भने हालका स्थानीय प्रशासन मन्त्री राजन्द्र श्रेष्ठले पनि यसै क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।काठमाडौं ८ पनि त्यस्तै अवस्था छ । एमालेको बलियो पकड मानिने यो क्षेत्रमा गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ आफ्नो जित दोहोर्याउन चाहन्छन् ।

यता एमालेका अष्टलक्ष्मी शाक्यले उठ्न अस्वीकार गरेपछि शिवराज वैद्य चुनावी मैदानमा होमिएका छन् । यी दुईलाई कडा प्रतिष्पर्धा दिन ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका सुमन सायमीले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । धादिङबाट जितेर मन्त्रीसमेत बनेकी कल्पना धमाला गठबन्धनको साख जोगाउन काठमाडौँ ९ बाट मैदानमा उत्रेकी छन् । हितमत शाक्य उठ्न नमाने पछि धमलालाई गठबन्धनले अघि सारेको हो ।

उनीसँग पूर्व मन्त्री तथा निर्वतमान एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ चुनावी मैदानमा छन् । त्यस्तै विवेकशील साझाको सांयोजन मिलन पाण्डेले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेर चर्चामा आएका राजनकुमार केसी आफ्नो तेस्रो जितको लागि क्षेत्र नम्बर १० बाट चुनवाी मैदानमा उत्रेका छन् । एमालेले रामबहादुर थापा बालदलाई उठ्न आग्र्रहगरे पनि इन्कार गरेपछि हिमेश केसीलाई चुनवाी मैदानमा उतारेको छ ।

राप्रपाबाट भने बलराम थापा यो क्षेत्रमा उठ्ने भएका छन् । यद्यपि, एमाले राप्रपा र जसपाको तालेमेल भए पनि १० क्षेत्रामा आफ्नो उम्मेदावर उठाए आन्तरीक छलफल गरेर फिर्ता गराउने कोशीस भइरहेक छ । माओवादीले आफुले पाएको तीनै क्षेत्रमा महिलालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै कांग्रेसले निवर्तमान चारै सांसदलाई जिताउने गरी टिकट वितरण गरेको छ । सन्तोष चालिसे र प्रदीप पौडेल पहिलो पटक काठमाडौँमा कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रतिष्पर्धा गर्दै छन् । एकीकृत समाजवादीले एक निर्वाचन क्षेत्र र केही प्रदेशहरुमा आफ्नो उम्मेदवारी पाए पनि विभिन्न निर्वाचन क्षेत्रमा दलहरुसँग असन्तुष्ट व्यक्त गर्दै दलकै नेताहरुले वागी उम्मेदवार भने दिएका छन् । यद्यपि वागी फिर्ता गर्न २६ गतेसम्म समय रहने छ ।