Breaking

नेपाली कांग्रेसका नेता गच्छदारको उम्मेदवारीविरुद्ध आयोगमा उजुरी


काठमाडौँ — नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छदारले सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । गच्छदारको उम्मेदवारी विरुद्ध सोमबार एक युवाले निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन् । गच्छदारविरुद्ध उजुरी आएको जानकारी निर्वाचन आयोगले जनाएको छ । आयोगले उक्त उजुरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएको छ । आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो । त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो । २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो । त्यस प्रकरणका एक मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए ।