देश

काठमाडौं क्षेत्र नम्बर ७ मा मानुसी र मानन्धरको उम्मेदवारी मनोनयन दर्ता


काठमाडौँ— काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । आईतवार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहाँले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मतदाताप्रति पूर्ण विश्वास छ, गठबन्धनबाट काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएका छौँ । यो भनेको नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन हामी आउँदैछौँ । हामी जित्नेमा पूर्ण विश्वास छ । भ्रष्टाचारमुक्त समाज बनाउन हामी प्रतिवद्ध छौँ । नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्नेछौँ ।’

त्यस्तै नेकपा एमालेका नेता रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको बताउनु भयो । उहाँले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको छ ।

संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो । म आत्मविश्वासका साथ भन्नसक्छु जनताले राम्रो मान्छे मन पराउँछ । जसले काम, विकास गरेको छ त्यसैलाई जिताउँछन् ।’गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका वसन्त मानन्धर र (ख) मा नेपाली काँग्रेसका सविन तामाङ उम्मेदवार हुनुहुन्छ ।