देश

सञ्चारमन्त्री कार्कीले सुनसरी ४ बाट गराए मनोनयन दर्ता


काठमाडौँ— सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

नेपाली काँग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेद्वारी दिनुभएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा हुनुहुन्छ । मनोनयन दर्तापश्चात संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताउनु भयो । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रशंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जसपा केही समस्या देखाएर बाहिरिएको छ । तर अहिलेको आवश्यक्ता हेरेर हामी अघि बढेका छौं । सोही अनुरुप लोसपासँग चुनावी तालमेल भएको छ । गठबन्धन मुलुकका लागि आवश्यक छ । निर्वाचनपछि पनि कायम रहने छ । उनले थपे, मुलुकलाई राजनैतिक स्थिरताको खाँचो छ । त्यसैले गठबन्धनको आवश्यकता छ ।’ यसैबीच नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराउनुभएको छ । आचार्य काँग्रेसका सीताराम मेहताको प्रतिष्पर्धीका बनेर चुनाव लड्दै हुनुहुन्छ ।

उता नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराउनुभएको छ । सुनसरी ३ मा पुनः गच्छदारको भिडन्त एमालेकी नेतृ भगवती चौधरीसँग हुँदैछ ।