Breaking

ईश्वरको जग हल्लाउँदै प्रदीपको उम्मेदवारी, काठमाडौं ५ मा कडा टक्कर, कसले मार्ला बाजी ?


काठमाडौँ — आगामी मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । जसका लागि आज देशैभरबाट उम्मेदावरहरु आफ्नो मनोनयन दर्ता गर्नका लागि निर्वाचन आयोगको कार्यालय पुगे । त्यसैमध्ये काठमाडौँ क्षेत्र नम्बर ५ मा पनि चर्चित अनुहारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । देशमा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी चढेको छ । चार महिनाअघि स्थानीय तहको चुनावको सरगर्मी सेलाउन नपाउँदै प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लिएर माहोल सुरु भइसकेको छ ।

अझ आईतबार उम्मेदवारी दर्तापछि त माहोल झन् तातेको छ । काठमाडौँका जम्मा १० निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. ५ को चार्च पनि अलि चाख लाग्दो छ । यो क्षेत्रमा चर्चित नेताहरूसँगै युवा अनुहार चुनावी मैदानमा उत्रदाँ यसको चर्चा चुलिदो छ । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भारी मतले विजयी भएका थिए ।

तत्कालिन समयमा उनले नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतको फराकिलो अन्तरले हराएका थिए । एमालेको राम्रो पकड भएको यो क्षेत्रबाट फेरि उनै पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पाँच वर्षको कार्यकालमा एमालेले जनताको हीतमा काम गरेकाले चुनाव जित्नेमा आफू विश्वस्त रहेको उम्मेवारी दर्तापछि उनले बताए ।

हेभी वेट पोखरेलसँगै युवामाझ लोकप्रिय नेता प्रदीप पौडेल पनि यही क्षेत्रबाट सांसदका लागि मैदानमा ओर्लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका पौडेललाई इश्वर पोखरेलको दबदबा सानो चुनौती होइन । पार्टीभित्रै र राष्ट्रिय राजनीतिमा पनि असफलताको स्वादमात्रै पाइरहेका पौडेलको ५ नम्बर निर्वाचन क्षेत्र रोजाईको मैदान थिएन ।

तनहुँबाट टिकट नपाएपछि काठमडौँमा व्यवस्थापनमा परेका हुन् । पार्टीको हालै सम्पन्न महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनी २०७४ को प्रदेश सभामा पनि नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ६ मतले पराजित भएका थिए ।
पहिलो पटक संघीय चुनाव लड्न लागेका उनी पहिले तनुहँ क्षेत्र नम्बर २ का आकांक्षी थिए, तर अन्तिम समयमा काठमाडौँबाट उठेको पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गरे ।

पहिलो स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा उम्मेदवार बनेर चर्चाको शिखरमा पुगेकी रञ्जु दर्शनाले पनि क्षेत्र नं. ५ बाटै नै स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी छन् । त्यस्तै कलाकार मधुसुदन पाठक (सीतेबा) ले पनि यहीँबाट स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रका उम्मेदवारलाई निर्वाचनमा जित हासिल गर्न चुनौतिको पहाड नै छ । प्रभावशाली नेताहरूसँगै युवा माझ लोकप्रिय नेता र कलाकारले पनि आफ्नो उम्मेदावरी दर्ता गर्दा यहाँको प्रतिष्पर्धा निकै रोमाञ्चक हुने देखिन्छ ।