Breaking

ओली, प्रचण्ड र गगनको घमासान, प्रधानमन्त्रीको तयारीमा गगन, देउवा छैनन् ढुक्क, चर्चित उम्मेदवारी यस्ता


काठमाडौँ — निर्वाचन आयोगले दिएको कार्यतालिका अनुसार राजनीतिक दलहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।मंसिर ४ को निर्वाचनमा गठबन्धन गठबन्धनबीच चुनावी लडाइँ हुने भएको छ । चितवनमा घर बनाएर गोरखामा बसाइँ सरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकातिर डा. बाबुराम भट्टराई र अर्काेतिर नारायणकाजी श्रेष्ठलाई राखेर उम्मेदवारी दर्ता गराए ।

चितवन ३ बाट चुनाव लड्ने व्यापक चर्चाका बीच प्रचण्डले गोरखा २ मा गएर उम्मेदवारी दर्ता गराएका हुन् । हुनत् यो निर्वाचनमा क्षेत्रमा माओवादीकै चुनाव चिन्ह दिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईलाई भिडाउने तयारी थियो । तर अन्तिममा छोरी मानुषीलाई काठमाडौं७ दिएर बाबुरामलाई ब्याक बनाएका प्रचण्डअघि बढे । र धेरैपटक धेरै ठाउँबाट चुनाव लडेको बताएका प्रचण्डले गोरखा पुगेर रेकर्ड बनाएकोमा गर्व महसुस गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दिएका छन् । गठबन्धनवादी दलहरुलाई हुती नभएको बताउँदै आएका ओलीले राप्रपालाई साथमा लिएर उम्मेदवारी दिँदै हुती देखाएका हुन् ।झापा ५ मा ओलीलाई सघाएर झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सघाउने गरि बनेको गठबन्धनबाट उनीहरुको उम्मेदवारी परेको छ ।

यहाँ ओलीविरुद्ध विगतमै पराजित भएका खगेन्द्र अधिकारीलाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ भने लिङ्देनविरुद्ध काँग्रेसकै कृष्णप्रसाद सिटौला खडा गरेको छ ।सिटौला गत निर्वाचनमा लिङ्देनसँगै पराजित भएका थिए भने ओलीले यसअघि ६४ बाहेक बाँकी सबै निर्वाचन यही क्षेत्रबाट जितेका छन् ।

झापा १ बाट भने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । उनीविरुद्ध एमालेका अग्नी खरेल उभिएका छन् ।काँग्रेसकै अर्का महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ बाट एमालेका राजन भट्टराईविरुद्ध उम्मेदवारी दिएका छन् ।शनिबार प्रधानमन्त्री देउवाले नैनसिंह महरलाई काठमाडौं ४ को टिकट दिएपछि थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने खबर बाहिरिएको थियो ।

तर थापाले आफ्नै निर्वाचन क्षेत्रमा लड्ने भन्दै उम्मेदवारीमात्रै दिएका छैनन्, कि अब ड्राइभिङ सिटमै बसेर देशको नेतृत्व गर्ने घोषणासहित निर्वाचनमा होमिएका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धूराबाट सातौंपटक उम्मेदवारी परेको छ । प्रधानमन्त्री देउवाको उम्मेदवारी पत्नी आरजु राणा देउवाले दर्ता गराएकी छन् । यहाँ एमालेले आफ्नो उम्मेदवार उठाएको छैन ।

बरु काँग्रेसबाट विद्रोह गर्दै काँग्रेस बीपीबाट देउवाविरुद्ध चुनाव लडिरहेका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको तर्फबाटरौतहट १ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ताले टिकट पाएका छन् ।गठबन्धनबाटै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

जम्मा दुई सिट पाएको जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलले प्युठानबाट उम्मेदवारी दिएकी छन् । सत्ता गठबन्धनबाटै छुट्टीएर एमालेसँग नयाँ गठबन्धन बनाएको जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गराएका छन् ।रामचन्द्र पौडेलले तनहुँ १ बाट, प्रकाशमान सिंहले काठमाडौं १ बाट, उनीविरुद्ध राप्रपाका रवीन्द्र मिश्रले पनि काठमाडौं १ बाटै, गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ बाट उम्मेदवारी दिएका छन् भने, एमालेका विष्णु पौडेलले २ बाट उम्मेदवारी दिएका छन् ।

रामकुमारी झाँक्रीले गुल्मी २ बाट उम्मेदवारी दिँदा उनको विरुद्ध एमालेका गोकर्ण विष्टले उम्मेदवारी दिएका छन् । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दिएका छन् ।काठमाडौं ८ बाट स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान चलाएका सुमन सायमीले उम्मेदवारी दिएका छन् ।एमालेबाट विद्रोह गरेका घनश्याम भुसालले रुपन्देही १ बाटै उम्मेदवारी दिएका छन् । तर भीम रावलले भने पार्टी अध्यक्षको निषेधमा परेपछि उम्मेदवार नै दिएका छैनन् ।