काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मनोनयन दर्ता पूरा भएसंगै निर्वाचनको औपचारिक तालिका सुरु भएको छ । मंसिर ४ आउन अब ४२ दिन बाँकी छ । ४२ दिनसम्म आयोगले तय गरेको तालिकामा निर्वाचनको गतिविधि कुन दिन के के हुँदैछ त ? आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका असोज २३ अर्थात आजबाट सुरु भएको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ताको समय, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि पाउने कार्यतालिकामा छ । त्यस पछि उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा भाग लिने छन् ।
२८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ ।
मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।


प्रतिक्रिया