Breaking

घनश्यामलाई प्रचण्डको फोन : तपाईंलाई गठबन्धनको समर्थन रहन्छ


काठमाडौँ – नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए ।

बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेको भन्दै भूसालले अगाडि सुनाए, ‘राति साढे १२ बजे प्रचण्डले मलाई भन्नुभयो । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको छु । माधव कमरेडलाई पनि कुरा गरिसकेको छु । हामी तपाईंलाई समर्थन गर्छौं । हाम्रो तmर्फबाट उम्मेदवारी हुँदैन । तपाईं अगाडि बढ्नुस् भन्नुभयो ।’

अब आफूले सत्ता गठबन्धनको समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही १ मा उम्मेदवारी दिने उनले बताए । भूसाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । व्यवहारिक राजनीतिमा बढी जित्ने सम्भावना हेरिने भएकाले रुपन्देही १ रोजेको उनले बताए ।