Breaking

शेर्पा एप्स सार्वजनिक, भाषाको संरक्षण र विकासमा सहयोग पुग्ने विश्वास


काठमाडौँ – विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा)ले विश्व शेर्पा दिवसको अवसरमा ‘शेर्पा भाषाको एप्स’ सार्वजनिक गरेको छ ।

शेर्पा भाषा सिकाइ, प्रयोग र अनुवादलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको ‘एप्स’ शनिबार चाबहिल चुच्चे पार्टीस्थित स्मार्ट पार्टी प्यालेसमा प्रसिद्ध धर्मगुरु सेन्ठाक टुल्कुको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । एप्सले युवाहरूलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषाशैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले बताउनुभयो ।

शेर्पाले एप्समार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्नुको साथै एप्समा शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिएको बताउनुभयो । एप्सलाई सरल र सहज रुपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल शेर्पा संघ तथा अदिवासी जनाजति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले युवापुस्तामा शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि एप्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल शेर्पा संघले कार्यक्रममा समन्वयत्मक भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्थाहरूलाई उपस्थित रहेको थियो ।विश्वभरबाट भर्चुअल जुममार्फत कार्यक्रम सहभागिता थियो ।

विश्व शेर्पा संघ जम्बुलिङ शेर्वी छोक्पाले सन् २०१७ देखि अक्टुबर ८ तारिखमा विश्व शेर्पा दिवस मनाउँदै आएको छ ।
विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरूले आर्थिक सहयोगमा एप्स निर्माण गरिएको हो ।

एप्स निर्माणमा आर्थिक, प्राविधिक र भाषिक सहयोग गर्नेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।