Breaking

एक्लै चुनाव लड्छु भन्ने ओलीले खोजे साना दलको साहारा, विचार सिद्धान्त भन्दा चुनाव जित्नु पहिलो लक्ष्य


काठमाडौँ — केवल सत्ता स्वार्थ पुरा भए नेपाली नेताहरुलाई सिद्धान्त र विचारधारा तपशीलका कुरा हुन भन्ने कुरा प्रमाणित हुँदै गएको छ । सत्ता गठबन्धन केवल सत्तारोहणकै लागि लोभीपापीहरुको झुण्ड भएको आरोप लगाउने ओली नै यो बाटोमा हिडेपछि नेताहरुको प्राथमिकता के भन्ने प्रष्ट भएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दैगर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव सडकमा थिए ।

मन्त्री हुँदा ओलीले गरेको व्यवहारले रन्थनिएका उनका लागि सडक आन्दोलन ओली र एमालेमाथि रोष पोख्ने गज्जबको प्लाटफर्म बनेको थियो । उनी भन्थे –प्रधानमन्त्री केपी ओली एन्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ता र शक्तिबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुन सक्दैन ।

ओलीमा अहंकार बढेको बताउने उनी कांग्रेस नरमपना प्रति प्रश्न गर्दै प्रतिपक्षीको धर्म समेत ननिभाएको बताउथे । उनमा गर्मी यति चढेको थियो कि ओलीप्रति सद्भाव राख्नेहरुलाई पार्टीभित्रै पेलेरबाहिरिनुपर्ने अवस्था श्रजना गरेका थिए । त्यो र अहिले ओलीसंग मिलनको समय वीचमा यादवले एमालेमाथि बर्षाएका गाली कति छन भनिसाध्य छैन ।

जहाँ उनले ओलीले संविधानमाथि कु गरेको भन्न भ्याए,प्रतिगमनकारी भने अनि संविधान विरोधीको ट्याग समेत लगाए । केहि दिन अघि नागरिकता विधेयकमा समेत एमाले विपरित अर्थात पास हुनुपर्छ भन्ने पक्षमा रहेका उनले राष्ट्रपतीको कदमलाई जो रक्षक उहि भक्षकको संज्ञा दिएका थिए । अझ गज्जब त के छ भने अहिलेसम्म पनि सरकारमा आफ्ना चार मन्त्रीलाई राखेर उनी २०७४ मा प्रचण्डले अगालेकै बाटामो अघि बढेका छन ।

एता सत्ता गठबन्धनलाई विचारहिन लोभीपापीको झुण्ड मान्ने ओली आफू एक्लै चुनावमा जाने बताउथे । राप्रपासंग तालमेलको यसअघिबाटै चर्चा हुँदा समेत त्यसलाई केवल सहकार्यमा समेट्ने उनले यादवसंगको सहमतीलाई पनि जिल्ला तहको तालमेलका रुपमा मात्र अथ्याउने गरेका छन् ।

एमाले म्याराथन लड्ने पार्टी भएकोले जस्तोसुकै गठबन्धनसंग एक्लै लड्ने बताउने उनी अहिले साना दलको साथ खोज्दै हिडेका छन । गठबन्धन र त्यसका नेताहरुमाथि वोली नै पिच्छे गाली गर्ने उनले त्यसैबाट टुक्रिएर आएको एक अवसरवादी पार्टीमा आफ्नो भविष्य देख्न थालेका छन्।

यता सत्ताघटक दलको गठबन्धन कहिलेसम्म भन्नेमा त पहिलेबाटै प्रश्न उठ्दै आएको छ । प्रधानमन्त्री बन्नुपर्ने सपनाहरुका वीचमा यो गठबन्धन चुनावपछिको सत्तोरहणमै भत्किने त हैन भन्ने धेरेको आशंकाका वीच घटक दलहरु नै यसको संकेत गरिसकेका छन । यहि वीचमा हिजोसम्म एमालेलाई साथ दिएको र म्यादी मन्त्री समेत खाएको लोसपालाई भित्र्याउने प्रयासमा गठबन्धन लागि परेको छ । लोसपालाको आगमनलाई स्वागतका लागि तमतयार गठबन्धनका नेताहरु यादवलाई भने प्रतिगमनकारी देख्न थालिसकेका छन ।

स्थानीय तह निर्वाचनमा प्रतिगमन र अग्रगमनकारीवीच प्रतिपस्र्धा भएको धेरेको विश्लेषणका वीच प्रदेश र संघमा पनि सोहि अवस्था दोहोरिने धेरैको तर्क थियो । कम्युनिष्ट विरुद्ध कम्युनिष्ट नै हुने अवस्थाले सिद्धान्तगत धुव्रीकरण सम्भव नरहे पनि संविधानको पक्षधर र विरोधीको आमने सामने हुने अवसरका रुपमा समेत यो निर्वाचनलाई लिनेको संख्या उल्लेख्य छ ।

तर खिचडी बनेको अहिलेको अवस्थाले यी सबै विश्लेषणलाई माथ दिएको छ भने केवल सत्तारोहण भन्दा माथि कुनै विचार र सिद्धान्त नहुने प्रमाणित गर्न दलहरु लागि परेका छन ।