Breaking

शीर्ष नेताहरुको स्वार्थमा टिकट वितरण, जनताले चाहेको व्यक्तिले पाए त टिकट ?


काठमाडौँ — देश अहिले प्रतिनिधिसभाको निर्वाचनले गर्मराएको छ । देशमा निर्वाचनको माहोल बन्दै जाँदा ठूला ठूला नेताहरुले समेत टिकट पाउन सकेका छैनन् । गठबन्धन र शीर्ष नेताहरुको स्वार्थमा रुमल्लिएर गरिएको टिकट वितरणमा आम जनताको बुझाई के छ त ?मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

गत स्थानीय तह निर्वाचनमा भौगोलिक कारण देखाउँदै मनोनयन दर्ताका लागि दुई दिन समय छुट्याए पनि आगामी निर्वाचनका लागि भने एक दिनको सयमसीमा छुट्याएको छ ।मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा सांसद बन्ने इच्छा बोकेकाहरु अहिले टिकटका लागि कसरतमा छन् ।

कतिपयको टिकट टुंगो लागिसक्यो भने कतिपयको अझै लाग्न बाँकी नै छ । यद्यपि टिकट टुंगो लाग्न बाँकी भएकाहरु भने यतिबेला आफ्नो टिकट सुनिश्चित गर्न ताकेता गरिरहेका छन् । दलबाट टिकट पाएकाहरु अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । शीर्ष नेताहरुको स्वार्थमा भएको टिकट वितरणमा आम जनताको प्रतिक्रिया भने यस्तो छ ।

राजनीतिलाई कमाई खाने भाडो वा पेशा नठानी सेवा भाव बुझेका नेतालाई उम्मेदवार बनाइनुपर्ने जनताको माग छ । दलहरुले पनि विना कुनै लोभ, स्वार्थ नहेरी जनभावको सम्मान गर्ने त्यस्ता उम्मेदवारलाई जनतामाझ पुर्याउनु पर्ने नागरिको बुझाई छ । तर, के जनताले चाहेको जस्तै व्यक्तिले टिकट पाएका छन् त ?

सर्सर्ती हेर्दा फेरि पनि जनताले तिनै पुरानै अनुहारलाई मत खसाल्नु पर्ने वातावरणको सिर्जना गरिएको छ ।जनताको मतले राज्य शक्तिमा रजगज गरिरहेकाहरु आफ्नो ठाउँमा नयाँले अवसर पाएको खेख्न चाहँदैनन् । लोकतन्त्रमा विश्वास राख्ने ठूला राजनीतिक दलहरु सच्चिएर जनताको सेवामा लाग्नेतर्फ भन्दापनि नयाँलाई अवसर नै नदिएर आफ्नो रजगज कायमै राख्ने दिशामा उन्मुख हुँदा देशको राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको छ ।