Breaking

भीम रावलको टिकट खोसिएपछि एमाले अछाममा सबै कमिटीले राजीनामा दिँदै


काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको हो ।

स्रोतका अनुसार अछाममा एमाले नेताहरुले विद्रोहको तयारी समेत गरेका छन् । एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले ९आज० शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

त्यसका लागि शनिबार दिउँसो रावल निकट नेताहरुले अछाममा भेला गरिरहेका छन् । तर रावलले भने यसबारे आधिकारिक प्रतिक्रिया जनाएका छैनन् ।

जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका आएका झपट बोहरालाई दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् ।

तर बोहराले चुनाव लड्नै नचाहेको एमाले नेताहरुले बताएका छन् । जबर्जस्ती उनलाई टिकट दिइएको बताइएको छ। एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दा आएका छन् । ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए । रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे ।

त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुई चोटि सांसद बनेका थिए ।