Breaking

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता


काठमाडौँ – प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, ४ वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो साढे ३ बजे घटनालगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली घटनास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिए । “अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उनले भने ।

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायब निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घट्नास्थलमा गएको छ । पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । “सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ”, प्रवक्ता थापा मगरले भने ।